
काठमाडौं ।
मुद्रास्फीति, यूक्रेन युद्ध तथा कडा प्रतिस्पर्धाका कारण आफ्ना ग्राहक घटेको नेटफ्लिक्सले जनाएको छ।
प्लेटफर्मले एक दशकको अवधिमा पहिलो पटक ग्राहक सङ्ख्या घटेको बताउँदै आउँदा दिनमा अझ बढी मात्रामा घट्न सक्ने प्रक्षेपण गरेको रोयटर्सले उल्लेख गरेको छ।
कोरोना महामारीका बेला निकै वृद्धि भएको स्ट्रिमिङ कम्पनीको व्यापार पछिल्ला दिनमा निकै घटेकोले आफ्ना ग्राहक सङ्ख्यामा कमी आएको नेटफ्लिक्सको बुझाई छ।
कम्पनीले पहिलो त्रैमासमा २ लाख ग्राहक गुमाएको जनाएको छ। २५ लाख ग्राहक थप्ने अपेक्षा गरेको कम्पनीले ७ लाख ग्राहक रुसले यूक्रेनमाथि गरेको हमलाका कारण रुसमा सेवा बन्द भएकाले गुमाउनु परेको बताएको छ।
वालस्ट्रीटले मंगलबार नेटफ्लिक्सको शेयर २६ प्रतिशतले घटेर समग्रमा ४० अर्ब स्टक मार्केट भ्यालू गुमाएको रिपोर्ट जारी गरेको रोयटर्सले उल्लेख गरेको छ।
ग्राहक सङ्ख्यामा लगातार ह्रास आइरहँदा कम्पनीले एचबीओ म्याक्स र डिज्नी+को सफलतालाई मध्यनजर गर्दै विज्ञापनसहितका सेवा कम मूल्यमा उपलब्ध गराउने योजना बनाएको छ।
प्रकाशित: ७ बैशाख २०७९, बुधबार