दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न

  • Technology Khabar | ४ बैशाख २०७९, आईतवार
दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न

काठमाडौं ।

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ। लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको विश्वास आयोजकले गरेका छन्।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरे। देशका ९० प्रतिशत बढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताए।

सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ मुल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्नु रहेको थियो। महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्यमा यो महोत्सव आयोजना गरेको हो।

महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यावसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताए।

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिव १ लाख दर्शकले अवलोकन गरेका थिए। चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विषेश प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो।

महोत्सवमा दिपक बज्राचार्य एण्ड रिदम व्याण्ड, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिदै आगन्तुकहरुलाई गीतसंगितले मनोरञ्जन दिएका थिए। साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुती थियो।

सोही अवसरमा महोत्सवलाई सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक एनसेल, सहप्रायोजक गोरखा व्रुअरी, रोयल स्ट्याग सहित अन्य सहयोगी संस्थाहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । त्यसैगरी महोत्सवको बैकिङ् पाटर्नर एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नर नेशनललाईफ इन्सुरेन्स, विभरेज पाटर्नर डावर नेपाल, अन्य सहयोगी पाटर्नरहरू नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिएका थिए । त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा राखिएका थिए। महोत्सवमा ६० वटा स्टल राखिएका थिए।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ।

प्रकाशित: ४ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार