
काठमाडौं ।
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्दै स्थानीय निर्वाचनमा सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन आग्रह गरेको छ।
काउन्सिलले स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको हो।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले विज्ञप्ति जारी गर्दै कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गरेका हुन्।
यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ।
काउन्सिलले सञ्चारमाध्यम, पत्रकार एवं सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ।
यसका साथै विगतको निर्वाचन जस्तै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन भएकाले सचेत हुन भनिएको छ।
प्रकाशित: १ बैशाख २०७९, बिहीबार