
काठमाडौं ।
एप्पलले भारतको चेन्नईमा रहेको फक्सकन प्लान्टबाट आईफोन १३ को उत्पादन शुरु गरेको छ।
कम्पनीले यसअघि गत वर्षको डिसेम्बरमै परीक्षण उत्पादन गरिरहेको चर्चा चलेकामा अब भने उक्त कुरा प्रस्ट भएको हो।
‘हामी स्थानीय उपभोक्ताका लागि सुन्दर डिजाइन, अत्याधुनिक क्यामरा सिस्टम तथा ए१५ बायोनिक चिपको उत्कृष्ट संयोजन रहेको आईफोन १३ को उत्पादन भारतमै शुरु गर्न उत्साहित छौं’, कम्पनीले भनेको छ।
एप्पलले भारतमा आईफोन १२, ११, एसई २०२० लगायतका पुराना मोडलहरु पनि भारतमा उत्पादन गर्ने गरेको छ भने भारतमा बिक्री हुनेमध्ये ७० प्रतिशत आईफोन स्थानीय प्लान्टमै बनाउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
भारतमा स्मार्टफोन एसेम्बल गर्दा निर्माताहरुले २० प्रतिशत आयात कर जोगाउछन्।
एप्पलले भविष्यमा २० प्रतिशत आईफोनको उत्पादन चीनबाट भारतमा सार्ने योजना बनाएको कम्पनीलाई उद्धृत गर्दै जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ चैत्र २०७८, सोमबार