
काठमाडौं ।
सामसङको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२२ सिरिजको परफर्मेन्समा ठूलो कमजोरी भेटिएपछि दक्षिण कोरियामा यसको मूल्य आधा घटेको छ।
सामसङको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२२ ले दक्षिण कोरियाका ग्राहकहरुको चरम असन्तुष्टिको सामना गरिरहेको छ। जुन फोन लन्च भएको एक सातापछि नै आउन थालेको थियो। कम्पनीको यस स्मार्टफोनको आन्तरिक बजारमा कार्यसम्पादन अर्थात परफर्मेन्सको बारे धेरै प्रयोगकर्ताको गुनासो छ। यसले सामसङको छविलाई नै बिगारेको छ। आईफोनको प्रतिस्पर्धीका रुपमा यो स्मार्टफोन अहिले निकै कमजोर मानिएको छ।
स्मार्टफोन निर्माताले यसलाई सबैभन्दा शक्तिशाली स्मार्टफोनको रूपमा विज्ञापन गरेको दाबी गर्दै ग्राहकहरूले गुनासो गरेका छन्, र सो विरुद्ध मुद्दा दायर गरेका छन्। जे होस्, भारी एप्लिकेसनहरू चलाउँदा फोनको कार्यसम्पादन धेरै सुस्त हुन्छ, जसले प्रोसेसरमा अधिकतम भार राख्छ।
नियामक निकाय कोरिया फेयर ट्रेड कमिसनले गत महिनादेखि यस्ता गुनासोहरू हेर्दै आएको छ र कम्पनीको बारेमा अनुसन्धान गरिरहेको छ।
विवादले सामसङको छविमा गहिरो क्षति पुर्याएको छ। कम्पनीको हाईइण्डका ह्यान्डसेटहरूप्रति मानिसहरूको विश्वास डगमगाएको छ। कम्पनीले वित्तिय घाटा पनि बेहोर्नुका साथै बजार हिस्सा घट्न थालेको छ।
ह्यान्डसेटको बारेमा धेरै उजुरीहरू कम्पनीको गेम अप्टिमाइजेसन सर्भिस (जीओएस) सँग सम्बन्धित छन्। कम्पनीका अनुसार यो सफ्टवेयरले गेमिङका क्रममा फोनलाई बढी तताउनबाट बचाउँछ र ब्याट्रीको आयु पनि बचाउँछ। दक्षिण कोरियाली कम्पनीले सन् २०१६ मा यो सफ्टवेयर ल्याएको थियो।
गीकबेन्चले यसबारे भनेको छ कि जीओएसले गेमिङको समयमा ह्यान्डसेटको कार्यसम्पादनलाई स्वचालित रूपमा सीमित गर्दछ। यसले ठूला एप्लिकेसनहरूको समयमा पनि त्यही काम गर्छ, जसमा प्रोसेसरमा लोड हुन्छ। गीकबेन्चले पत्ता लगायो कि यो सफ्टवेयरले ग्यालेक्सी एस २२ को प्रोसेसरला ४६ प्रतिशत सम्म ढिलो बनाउने गरेको छ।
कम्पनीले मार्केटिङ सामग्रीमा यस सम्बन्धमा थप विवरण नदिएपछि समस्या बढेको थियो। यसको साथमा, प्रयोगकर्तासँग यसलाई डिसेबल गर्ने कुनै विकल्प छैन। यो समस्याको बारेमा प्रयोगकर्ताहरूको गुनासोले सामाजिक सञ्जालमा हंगामा पनि मच्चाएको छ।
आईटीसब नामका एक युट्युबरले आफ्नो पोस्टमा भने, “यो यस्तो समस्या हो जुन पहिले कहिल्यै नदेखिएको हो, यसबाट छुटकारा पाउने कुनै उपाय पनि छैन। यो एक अभूतपूर्व, क्रेजी इस्यू हो जुन कुनै पनि हिसाबले माफ गर्न सकिँदैन,” यो युट्युबरका २१ लाख सब्सक्राइबर छन् र च्यानलले ग्याजेटको बारेमा कुरा गर्छ।
सामसंगले प्रयोगकर्ताहरूलाई उनीहरूको सुरक्षाको लागि कुनै जोखिम बिना सफ्टवेयर डिसेबल गर्न अनुमति दिन अद्यावधिक जारी गरेको छ। यसका साथै हार्डवेयर र सफ्टवेयर दुवैमा आफ्नो नवप्रवर्तनलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।
कम्पनीले एस२२ सिरिज लन्च भएको ६ हप्तामा १० लाख ह्यान्डसेट बेचेको छ। तर अब भने दक्षिण कोरियाका तीन प्रमुख दूरसञ्चार सेवा प्रदायकहरूले यसको मूल्यमा भारी कटौती गरेका छन्। अब कोरियामा एस २२ को मूल्य ५,४९,००० कोरियाली वोनमा घटाइएको छ। जहाँ यो ९,९९,००० वोनमा लन्च गरिएको थियो।
कम्तिमा १,८८५ उपभोक्ताहरू कम्पनीको बारेमा विश्वस्त छैनन्, र सामसङको मार्केटिङले एस २२ को कार्यसम्पादनमा वृद्धि गराएको तर्क गर्दै क्लास-एक्शन मुद्दा दायर गरेका छन्।रोयटर्स
प्रकाशित: २७ चैत्र २०७८, आईतवार