ठेगाना पत्ता लगाउन घर-घरमा ‘क्यूआर कोड’

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
ठेगाना पत्ता लगाउन घर-घरमा ‘क्यूआर कोड’
सांकेतिक तस्बिर

काठमाडौं ।

घरको ठेगाना पत्ता लगाउन रुपन्देहीको सैनामैना नगरपालिकाले घर–घरमा क्यूआर कोड स्टिकर जडान गर्न सुरु गरेको छ।

प्रत्येक घर तथा कार्यालयमा टाँसिने क्यूआर कोडले यहाँको ठेगाना सजिलै पत्ता लाग्ने र दूरीलगायतका विवरण प्राप्त गर्न सकिनेछ।

गएको शुक्रबार नगरको वडा नं.८ कलौनी स्थित ऋषिराम पाण्डेको घरमा क्यूआर कोड स्टिकर टाँसेसँगै नगरका घर घरमा क्युआर कोड जडान कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ।

क्यूआर कोड स्टिकर जडान गर्दै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले पालिकाले भूउपयोग योजना, अद्यावधिक योजनादेखि नगर यातायात गुरुयोजना र नगर प्रोफाइल निर्माण गर्ने क्रममा घर डिजिटाइजेसनको काम सम्पन्न गरेको बताए।

जुनसुकै ठाउँमा आउनका लागि गुगल पासकोर्ड राखेर सर्च गर्न सकिने वा क्यूआर कोड स्क्यानिङ्ग गर्नसाथ गुगलले म्याप दिएर आफु पुग्नुपर्ने ठाउँसम्म पुग्नका लागि सजिलै गाइड गर्ने कार्कीको भनाई छ।

“गुगल म्यापले सजिलै ट्रयाकिङ्ग गर्ने भएकोले देश तथा विदेशबाट हाम्रो घरको ठेगाना सहजै पत्ता लगाउन सकिनेछ,” उनले भने।

साथै लोकमार्गमा पनि सिसि क्यामराहरु जडान गर्ने कार्य अघि बढेको बताउँदै कार्कीले प्रविधियुक्त समयमा जुनसुकै लोकेसन पनि प्रविधिमात्र ट्रयाकिङ्ग गरेर सजिलै त्यो ठाउँमा पुग्ने सकिने र कसैलाई सोध्न नपर्ने गरि सहजता ल्याएको जानकारी दिए।

आगामी दिनमा सैनामैना नगरपालिकाका निजी घर, व्यावसायिक भवनहरू, औद्योगिक क्षेत्र, मन्दिर, वनभोज स्थल, पार्कहरू सबै ठाउँमा डिजिटल स्टिकर टाँसिनेछ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...