प्रविधि

प्राविधिक मर्मतका कारण नेपाल प्रहरीका वेबसाइट र अनलाइन सेवा अवरुद्ध

प्राविधिक मर्मतका कारण नेपाल प्रहरीका वेबसाइट र अनलाइन सेवा अवरुद्ध
Global IME Bank

प्राविधिक मर्मतसम्भारका कारण नेपाल प्रहरीका वेबसाइट तथा विभिन्न अनलाइन सेवामा अवरोध आएको छ।

नेपाल प्रहरीले आज एक सूचना सार्वजनिक गर्दै संस्थाको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली तथा अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध भइरहेको जनाएको हो।

प्रहरीले प्राविधिक मर्मतसम्भारका कारण ती सेवाहरू प्रभावित भएको जनाएको छ। मर्मतसम्भारका क्रममा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति प्रहरीले क्षमायाचना गरेको छ।

नेपाल प्रहरीले सेवामा अवरोध कहिलेसम्म रहने र पुनः कहिले नियमित सञ्चालनमा आउने भन्नेबारे भने सूचनामा खुलाएको छैन।

यस अवधिमा प्रहरीसँग सम्पर्क गर्नुपर्ने सेवाग्राहीका लागि विभिन्न सम्पर्क माध्यम पनि उपलब्ध गराइएको छ। नेपाल प्रहरीको हटलाइन नम्बर १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरीसम्बन्धी गुनासोका लागि १११३ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै, प्रहरीका सेवा तथा जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र मोबाइल एप पनि उपलब्ध छन्।

Sajilo Visa
easy care