टाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षा

  • Technology Khabar | २९ आश्विन २०८३, बिहीबार
टाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षा

काठमाडौं ।

भारतको टाटा टेक्नोलोजिजको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद नाफा ३.६ प्रतिशत बढेको छ। इन्जिनियरिङ सेवा व्यवसायमा भएको वृद्धिको सहयोगमा कम्पनीले सेप्टेम्बर ३० मा समाप्त त्रैमासिकमा १ अर्ब ७१ करोड भारतीय रुपैयाँ खुद नाफा कमाएको हो।

कम्पनीले गत वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड भारतीय रुपैयाँ नाफा कमाएको थियो। बुधबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.४ प्रतिशत बढेर १६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

रोयटर्सका अनुसार कम्पनीको कुल आम्दानीमा करिब ८० प्रतिशत हिस्सा रहेको सेवा व्यवसायको आम्दानी एक वर्षअघिको तुलनामा करिब ३४ प्रतिशत बढेको छ। त्यस्तै, प्रविधि समाधान क्षेत्रको आम्दानी १०.५ प्रतिशत बढेको कम्पनीले जनाएको छ।

टाटा टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक वारेन ह्यारिसले चालु आर्थिक वर्षभर कम्पनीको आम्दानी दोहोरो अंकको दरमा बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

कम्पनीले अटोमोबाइल, एयरोस्पेस र औद्योगिक मेसिनरी क्षेत्रका ग्राहकलाई इन्जिनियरिङ, उत्पादन डिजाइन तथा उत्पादनसम्बन्धी परामर्श सेवा दिँदै आएको छ। यसका ग्राहकमा जगुआर ल्यान्ड रोभर (जेएलआर) र टाटा मोटर्स पनि छन्।

एम्बिट क्यापिटलका विश्लेषकहरूले ग्राहकको निरन्तर खर्च र जापानी सवारी उत्पादक कम्पनीका लागि सञ्चालन भइरहेको ठूलो परियोजनाको विस्तारका कारण टाटा टेक्नोलोजिजको अटोमोबाइल व्यवसायले प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा राम्रो वृद्धि हासिल गर्न सक्ने बताएका छन्।

यसै महिनाको सुरुमा रोयटर्सले होन्डा मोटरले भारतीय बजारका लागि कार विकास गर्न टाटा टेक्नोलोजिजसँग सहकार्य गर्ने र यसबाट लागत करिब २० प्रतिशत घटाउन सक्ने समाचार प्रकाशित गरेको थियो।

प्रकाशित: २९ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×