काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न गरेको छ ।
बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस पश्चात् एनसीएचएलको चुक्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको हुनेछ।
कम्पनीले पूँजी वृद्धिमार्फत नेशनल पेमेन्ट प्रणालीहरु, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरु, डीपीआईका लागि थप पूर्वाधारहरु, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्ने बताइएको छ।
आ.व. २०८२/८३ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो।
उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या र रकमको आधारमा १३ प्रतिशतले वृद्धि भए सँगै कम्पनीको सञ्चालन आमदानी ७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको खुद नाफा ने.रु ४१ करोड रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कम हो।
उक्त वार्षिक साधारण सभाबाट एनसीएचएलले बैंकिङ्ग-वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास, जडान तथा त्यससँग सम्बन्धित आवश्यक कार्य समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक वा सम्बद्ध कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ।
वित्तीय क्षेत्रको लागि आवश्यक प्रविधि तथा सफ्टवेयरको विकास र जडान गर्ने उद्देश्य सहित उक्त कम्पनीले काम गर्नेछ।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु र फाइनान्स कम्पनीहरुबाट क्रमशः १–१ जनाको प्रतिनिधित्व रहेको छ भने १ जना स्वतन्त्र सञ्चालक रहेको छ।
एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, ईएफटी कार्ड स्विच, नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत एनपीएस-एनसीएस र आरपीएस, एनपीआई, एनपीआईएक्स प्रणालीहरु सञ्चालनमा रहेको छ।
कनेक्टआईपीए, कर्पोरेटपे, कनेक्टआरजीटीएस, नेपालपे क्यूआर र नेपालपे कार्ड लगायत विभिन्न भुक्तानी उपकरणहरु समेत सञ्चालन गर्दै आएको छ । एनसीएचएलमा हाल नेपाल राष्ट्र बैक समेत गरी ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा १५० भन्दा बढी गैर–बैंकिङ संस्थाहरु अप्रत्यक्ष/प्राविधिक सदस्यको रुपमा आवद्ध रहेका संस्थाले जनाएको छ।
प्रकाशित: २९ आश्विन २०८३, बिहीबार