गुगलले फिटबिट एजको झलक सार्वजनिक गर्दै घोषणा गर्‍यो सार्वजनिक हुने मिति

  • Technology Khabar | २६ आश्विन २०८३, सोमबार
गुगलले फिटबिट एजको झलक सार्वजनिक गर्दै घोषणा गर्‍यो सार्वजनिक हुने मिति

काठमाडौं ।

गुगलको आगामी फिटनेस ट्र्याकर फिटबिट एजको तस्बिर यसै महिनाको सुरुवातमा सार्वजनिक भएको थियो। त्यसको केही दिनपछि यसको सम्भावित मूल्य र पूर्ण विशेषतासम्बन्धी विवरण पनि बाहिरिएको थियो।

अब गुगलले उक्त उपकरणको अस्तित्व पुष्टि गर्दै सामाजिक सञ्जाल एक्समा यसको झलक सार्वजनिक गर्न थालेको छ। कम्पनीले फिटबिट एज अक्टोबर १२ मा सार्वजनिक हुने मिति पनि घोषणा गरेको छ।

उपकरण सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ। यसअघि सार्वजनिक भएका विवरणअनुसार फिटबिट एजमा १.३४ इन्चको एमोलेड स्क्रिन हुनेछ। यसको ब्याट्री एक पटक चार्ज गर्दा सात दिनसम्म चल्ने बताइएको छ। अलवेज अन डिस्प्ले सुविधा सक्रिय राख्दा भने ब्याट्री दुई दिनसम्म मात्र चल्नेछ।

जीएसएमएरिनाका अनुसार यसमा ४० वटा व्यायाम मोड, ब्लुटुथ ५.४, जीपीएस र जेमिनीमा आधारित व्यक्तिगत कोचिङ सुविधा हुने बताइएको छ।

यस उपकरणले प्रयोगकर्ताको पाइला, हिँडेको दूरी, मुटुको गति, खर्च भएको क्यालोरी, निद्रा, महिनावारी चक्र र छालाको तापक्रम मापन गर्नेछ। यसमा रहेका विभिन्न सेन्सरले एट्रियल फिब्रिलेसन, मुटुको अनियमित चाल, मुटुमा पर्ने भार, शारीरिक तन्दुरुस्तीको स्तर र अधिकतम अक्सिजन उपभोग क्षमता (भीओटु म्याक्स) समेत पहिचान गर्ने बताइएको छ।

फिटबिट एजमा पानी प्रतिरोधका लागि ५ एटीएम र आईपी६८ रेटिङ हुने जनाइएको छ। यसको मोटाइ ११.५८ मिलिमिटर, उचाइ ३९.२२ मिलिमिटर र चौडाइ २५.५६ मिलिमिटर हुनेछ। यसको तौल १७.७ ग्राम हुने अनुमान गरिएको छ।

युरोपेली क्षेत्रमा यसको मूल्य १७९ युरो र बेलायतमा १५९ पाउन्ड हुने अनुमान गरिएको छ। यो अब्सिडियन र म्याट ब्ल्याक, ओलिभ र साटिन पाइराइट, क्यान्यन र श्याम्पेन गोल्ड तथा फग र पोलिस्ड सिल्भर गरी चार रङ संयोजनमा उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २६ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार