काठमाडौं ।
जापानी दूरसञ्चार कम्पनी सफ्टबैंकले अन्ततः ‘डिजिटल ब्रिज’लाई ३.१ अर्ब डलरमा किन्ने प्रक्रिया पूरा गरेको छ। वर्षभरि चर्चामा रहेको यो सम्झौताले गत साता मात्रै आवश्यक कानुनी स्वीकृति पाएको थियो।
बुधबार यो खरिद प्रक्रिया पूरा भएको घोषणा गर्दा सफ्टबैंकले धेरै तामझाम भने गरेन। यद्यपि, उसले के स्पष्ट पारेको छ भने डिजिटल ब्रिज अब सफ्टबैंककै एउटा हिस्सा बने पनि, यसले आफ्ना वर्तमान सीईओ मार्क गान्जीकै नेतृत्वमा पहिले जसरी नै स्वतन्त्र रूपमा काम गरिरहनेछ।
आखिर सफ्टबैंकले यो कम्पनी किन्न यति ठूलो रकम किन खर्च गर्दैछ त? यसको एउटै मुख्य कारण हो— आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। गत डिसेम्बरमा नै सफ्टबैंकले यसबारे आफ्नो योजना सुनाएको थियो।
सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोशी सनको भनाइ अनुसार, जसरी एआईले विश्वका उद्योगहरूलाई परिवर्तन गर्दैछ, त्यसलाई धान्नको लागि धेरै कम्प्युटिङ पावर, बलियो इन्टरनेट सञ्जाल र पर्याप्त ऊर्जा चाहिन्छ। “डिजिटल पूर्वाधारमा अगाडि रहेको डिजिटल ब्रिजले हाम्रो नयाँ पुस्ताको AI डाटा सेन्टर बनाउने सपनालाई साकार पार्न मद्दत गर्नेछ,” सनले भनेका थिए।
यसको पछाडि सफ्टबैंकको अझ ठूलो लक्ष्य लुकेको छ, जसलाई उनीहरू ‘एएसआई’ (आर्टिफिसियल सुपर इन्टेलिजेन्स) भन्छन्। यो यस्तो भविष्यको प्रविधि हो, जसले मानिसको बुद्धिलाई पनि निकै पछाडि छोडिदिनेछ भन्ने सफ्टबैंकको विश्वास छ।
डिजिटल ब्रिज सामान्य कम्पनी होइन। यसले विश्वभरका मोबाइल टावर, फाइबर सञ्जाल र डाटा सेन्टर जस्ता करिब १०८ अर्ब डलर बराबरका पूर्वाधारहरूको व्यवस्थापन गर्दै आएको छ।
सुरुमा यो सम्झौता करिब ४ अर्ब डलरको हुने अनुमान गरिएको थियो। तर, ऋण कटाएर सफ्टबैंकले ३.१ अर्ब डलर नगद (प्रतिकित्ता १६ डलरका दरले) तिरेर सम्झौता टुंग्याएको छ। यो मूल्य गत डिसेम्बरमा कम्पनीको तत्कालीन सेयर बजार भाउभन्दा १५ प्रतिशत बढी थियो। सम्झौताको खबरसँगै बढेको कम्पनीको सेयर मूल्य अहिले पनि लगभग १६ डलरकै हाराहारीमा छ।
यता, डिजिटल ब्रिजका सीईओ मार्क गान्जी पनि यो सहकार्यलाई लिएर निकै उत्साहित छन्। उनको नजरमा एआईको लागि पूर्वाधार तयार गर्नु यो पुस्ताकै सबैभन्दा ठूलो लगानीको अवसर हो। “सफ्टबैंक र हाम्रो सोच ठ्याक्कै मिल्छ। उनीहरूको लगानी क्षमता र विश्वव्यापी पहुँचले हामीलाई हाम्रा लक्ष्यहरू अझ छिटो हासिल गर्न र प्रविधि कम्पनीहरूलाई राम्रो सेवा दिन मद्दत गर्नेछ,” उनले भने।
प्रविधिको दुनियाँमा एआईलाई लिएर अहिले सबैको ठूलो महत्वाकांक्षा छ। तर, सफ्टबैंकका मासायोशी सनले जसरी यसमा खुलेरै अर्बौंको लगानी खन्याएका छन्, त्यो विरलै देख्न पाइन्छ। उनको यो आक्रामक लगानीले भविष्यमा कस्तो नतिजा दिने हो, त्यो भने समयले नै बताउनेछ।
प्रकाशित: १८ आश्विन २०८३, आईतवार