काठमाडौं ।
अमेरिकाको न्यू मेक्सिको राज्यका वकिलले कम्पनीलाई असर पर्ने गरी पर्याप्त ठूलो जरिवाना हुनुपर्ने बताएका छन्।
अमेरिकाको न्यू मेक्सिको राज्यले दायर गरेको मुद्दामा जुरीले सरकारको पक्षमा फैसला गरेपछि मेटाले क्याम्ब्रिज एनालिटिका प्रकरणमा ४० अर्ब डलरसम्म जरिवाना तिर्नुपर्ने हुन सक्ने भएको छ।
रोयटर्सका अनुसार राज्यका अधिकारीहरूले अदालतसमक्ष मेटालाई ३५ अर्बदेखि ४० अर्ब डलरसम्म जरिवाना तिर्न आदेश दिन माग गरेका छन्। न्यु मेक्सिकोले सन् २०२१ मा मेटाविरुद्ध मुद्दा दायर गर्दै कम्पनीले आफ्नो डेटा गोपनीयता अभ्यासबारे प्रयोगकर्तालाई भ्रममा पारेको आरोप लगाएको थियो।
बेलायती राजनीतिक डाटा कम्पनी क्याम्ब्रिज एनालिटिकाले राजनीतिक विज्ञापन अभियानका लागि ५ करोडभन्दा बढी फेसबुक प्रोफाइलको जानकारी प्रयोगकर्ताको सहमतिबिना संकलन गरेको थियो।
सेप्टेम्बरको अन्त्यमा न्यू मेक्सिकोको जुरीले राज्यको पक्षमा फैसला गरेको थियो। जुरीले मेटाले न्यु मेक्सिकोको अनुचित व्यापार अभ्याससम्बन्धी कानुन उल्लंघन गरेको र गोपनीयताका साथै कम्पनीले गलत सूचना कसरी व्यवस्थापन गर्छ भन्ने विषयमा पनि राज्यका बासिन्दालाई भ्रममा पारेको ठहर गरेको थियो।
जुरीको फैसलाअनुसार राज्यले मेटासँग २१९ अर्ब डलरसम्म जरिवाना माग गर्न सक्छ। जुरीले मुद्दासँग सम्बन्धित विषयमा कम्पनीले गरेका २९ वटा भनाइको अध्ययन गरेको थियो, जसमध्ये २६ वटा भ्रामक रहेको ठहर गरेको थियो। ती भनाइ लक्षित न्यू मेक्सिकोका फेसबुक प्रयोगकर्ताको संख्याका आधारमा मेटाले राज्यको उपभोक्ता संरक्षणसम्बन्धी कानुन ४ करोड ३० लाख पटक उल्लंघन गरेको जुरीले ठहर गरेको थियो।
राज्यकी वकिल रान्डी म्याकगिनले मेटालाई असर पर्ने गरी पर्याप्त ठूलो जरिवाना हुनुपर्ने बताएकी छन्। उनले भनिन्, “यस अदालतले मेटाले बुझ्ने एउटै भाषामा कुरा गर्नुपर्छ, त्यो भनेको पैसा र यसको सेयर मूल्य हो।” म्याकगिनले माग गरिएको रकम मेटाले विरोध गरे पनि पुनरावेदन अदालतमा कायम रहने विश्वास व्यक्त गरेकी छन्।
उता, मेटाले जरिवाना ३ अर्ब ४५ करोड डलरमा सीमित गर्न अदालतसँग माग गरेको छ। न्यु मेक्सिकोले आफ्ना कुनै पनि बासिन्दा मेटाका भनाइबाट वास्तवमै भ्रममा परेको प्रमाणित गर्न नसकेको मेटाको दाबी छ। न्यायाधीशले यसै महिनाको अन्त्यमा निर्णय सुनाउनेछन्।
प्रकाशित: १७ आश्विन २०८३, शनिबार