काठमाडौं ।
एयरबीएनबीले आफ्नो प्लेटफर्ममा एआई खोज र थप सामाजिक सुविधा थप गरेको छ।
कम्पनी हाल दुई दिशामा अघि बढिरहेको छ। प्रत्यक्ष सेवातर्फ कम्पनी होटलसँग प्रतिस्पर्धा गर्न विभिन्न सेवा उपलब्ध गराउन चाहन्छ भने अनलाइनतर्फ एआई र एयरबीएनबी नेटवर्कमा रहेका मानिसको सहयोगमार्फत यात्राका लागि नयाँ ठाउँ खोज्न सहज बनाउने प्रयास गरिरहेको छ।
टेकक्रञ्चका अनुसार कम्पनीले आफ्नो शरद् उत्पादन अपडेटअन्तर्गत गत वर्ष सुरु गरेको एपमा थप सेवाहरू जोडेको छ। सीमित स्थानमा खाना डेलिभरी, लुगा धुने सेवा, बच्चाका सामान भाडामा दिने, स्की र डुंगा भाडामा दिने तथा विस्तारित किराना सामान डेलिभरी सेवा थपिएका छन्।
अर्को प्रमुख सुविधा एआई खोज हो। कम्पनीले एआई सुविधा विस्तारमा सावधानी अपनाउँदै आएको छ। प्रमुख कार्यकारी अधिकृत ब्रायन चेस्कीले च्याटबटजस्तो इन्टरफेस प्रयोग नगर्ने नीति लिएका छन्। उनले यसै वर्षको सुरुमा सम्पत्ति खोजीका लागि नयाँ खोज सुविधाको संकेत दिएका थिए।
अब प्रयोगकर्ताले टगल अन गरेर टेक्स्ट वा आवाजमार्फत सम्पत्ति खोज्न सक्नेछन्। खोज सुरु गरेपछि इन्टरफेसले प्रयोगकर्ताको रुचिअनुसार विभिन्न गतिशील फिल्टर देखाउनेछ। उदाहरणका लागि, एआई खोज फिल्टरमा ‘बेबी’ टाइप गर्दा एयरबीएनबीले बच्चाका खाट, खेल्ने ठाउँ तथा बालबालिकाका पुस्तक र खेलौनाजस्ता थप फिल्टर स्वतः देखाउनेछ।
प्लेटफर्मले एआई प्रयोग गरी कुनै सम्पत्तिका महत्वपूर्ण सुविधाहरू पनि देखाउनेछ। प्रयोगकर्ताले एआईबाट तयार गरिएका संक्षिप्त विवरण र समीक्षाको माध्यमबाट आफ्नो इच्छा सूचीमा रहेका विभिन्न सम्पत्तिको तुलना गर्न सक्नेछन्।
“हामी अन्ततः एआई खोजमा पहिलोपटक प्रवेश गर्दैछौं। तपाईंले अहिले देखिरहनुभएको कुरा यसको सुरुवात मात्र हो। आगामी महिनाहरूमा हामी यसलाई निकै छिटो सुधार गर्दै जानेछौं।
एआई खोज बनाउन गाह्रो छैन, तर आफ्नो प्लेटफर्मबाट १०० अर्ब डलरको कारोबार भइरहेको अवस्थामा ई–कमर्सका लागि एआई खोज बनाउनु कठिन छ,” एयरबीएनबीका प्रमुख कार्यकारी अधिकृत ब्रायन चेस्कीले भने, “जो कोहीले पनि सर्च सुविधा बनाउन सक्छ, तर त्यसले कारोबार दर घट्न नदिने गरी बनाउनु कठिन कुरा हो,” उनले भने।
कम्पनीले सामाजिक सुविधामा पनि थप जोड दिइरहेको छ। यसको उद्देश्य प्रयोगकर्तालाई थप यात्रा गर्न र खानाको स्वाद चाख्ने कार्यक्रम तथा हस्तकला कार्यशालाजस्ता थप अनुभव बुक गर्न प्रोत्साहित गर्नु हो। गत वर्षदेखि एपले प्रयोगकर्तालाई प्लेटफर्ममै अन्य यात्रु तथा साथीहरूसँग जोडिन दिने सुविधा सुरु गरेको थियो।
अब यात्रुहरूले आफूले जोडिएका मानिसका विगत वा आगामी यात्राका आधारमा नक्सा हेर्न सक्नेछन्। कुनै यात्रामा ट्याप गर्दा सम्बन्धित व्यक्तिले कहाँ बसेका थिए र कुन अनुभवमा सहभागी भएका थिए भन्ने जानकारी हेर्न सकिनेछ। आफ्नो गोपनीयताप्रति सचेत प्रयोगकर्ताका लागि भने आफ्ना यात्रा अरूसँग साझा नगर्ने विकल्प पनि हुने टेकक्रन्चले उल्लेख गरेको छ।
एयरबीएनबीले पाहुनाका समीक्षा र अन्य स्रोतका आधारमा विभिन्न छिमेकका बारेमा जानकारी दिने पेज पनि निर्माण गरिरहेको छ। यसबाट यात्रुहरूले ती क्षेत्रमा खान र घुम्नका लागि उपलब्ध ठाउँहरूबारे जानकारी पाउन सक्नेछन्।
प्रकाशित: १५ आश्विन २०८३, बिहीबार