ताजा समाचार

एआईको बढ्दो लगानीले विश्व अर्थतन्त्रमा अवसरसँगै जोखिम बढायो

एआईको बढ्दो लगानीले विश्व अर्थतन्त्रमा अवसरसँगै जोखिम बढायो
एआई एजेन्ट। सांकेतिक तस्बिर। पिक्साबे डटकमबाट।
Global IME Bank

कृत्रिम बुद्धिमत्ता (एआई) विश्व अर्थतन्त्रका लागि आर्थिक वृद्धिको संवाहकसँगै जोखिमको स्रोत पनि रहेको आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसीडी)ले बुधबार सार्वजनिक गरेको ‘आर्थिक परिदृश्य अन्तरिम प्रतिवेदन’ले जनाएको छ ।

प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो छ महिनामा धेरै अर्थतन्त्रमा एआईसम्बन्धी लगानी र उत्पादन तीव्र रूपमा बढेको थियो । यसले मध्यपूर्वको द्वन्द्वबाट परेको समग्र आर्थिक प्रभावलाई केही हदसम्म कम गर्न सहयोग पुर्‍याएको थियो ।

यस अवधिमा विश्वव्यापी आर्थिक वृद्धिदर वार्षिक दुई दशमलव छ प्रतिशतमा झरेको छ, जुन सन् २०२५ को सोही अवधीमा तीन दशमलव छ प्रतिशत थियो ।

ओइसीडीका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा विभिन्न देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिमा डाटा सेन्टर पूर्वाधार र प्राविधिक उपकरणमा भएको लगानीले टेवा पु¥याएको थियो । यसबाट सम्बन्धित प्रविधि र निर्माण सामग्रीको ठूलो परिमाणमा उत्पादन गर्ने देशलाई समेत लाभ पुगेको थियो ।

ओइसीडीले सन् २०२६ मा विश्वव्यापी आर्थिक वृद्धिदर दुई दशमलव नौ प्रतिशत र सन् २०२७ मा तीन प्रतिशत रहने प्रक्षेपण गरेको छ । धेरै जी–२० अर्थतन्त्रमा एआईसम्बन्धी खर्च र उत्पादनले आर्थिक वृद्धिलाई निरन्तर सहयोग गर्ने अपेक्षा गरिएको छ । यस्तो प्रभाव व्यावसायिक क्षेत्रका अन्य भागमा देखिएको तुलनात्मक रूपमा कमजोर लगानीभन्दा बढी हुने अनुमान छ ।

प्रतिवेदनअनुसार एआईसम्बन्धी लगानी र प्रविधि उत्पादनको थप विस्तारले निकट भविष्यमा आर्थिक वृद्धिमा थप योगदान पु¥याउन सक्छ । उत्पादन प्रक्रियामा एआई प्रविधिको प्रभावकारी एकीकरण हुन सके यसले उत्पादकत्वमा उल्लेख्य वृद्धि ल्याउन सक्ने ओइसीडीले जनाएको छ ।

ऊर्जा अभावले एआईजस्ता ऊर्जामा अत्यधिक निर्भर र तीव्र रूपमा विस्तार भइरहेका उद्योगलाई विशेष असर पार्न सक्ने चेतावनी पनि प्रतिवेदनले दिएको छ ।

एआईमा गरिएको लगानीबाट अपेक्षित प्रतिफल नआउन सक्ने वा हालको अनुमानभन्दा ढिलो प्राप्त हुने जोखिम रहेको ओइसीडीले जनाएको छ । विशेषगरी विद्युत् र उन्नत सेमीकन्डक्टरजस्ता आवश्यक सामग्रीको आपूर्तिमा अवरोध आए यस्तो जोखिम बढ्न सक्छ ।

त्यस्तै, एआईसँग सम्बन्धित बढ्दो सुरक्षा चिन्ताले यसको विकास वा प्रयोगको गति सुस्त बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

एआई कम्पनीहरूको ऋणमा बढ्दो निर्भरता, जटिल वित्तीय संरचना र कर्जा जोखिमका सङ्केतले लगानीकर्ताको मनोभावनामा आउने तीव्र परिवर्तनलाई थप बढावा दिन सक्ने ओइसीडीले चेतावनी दिएको छ ।  रासस/सिन्ह्वा

Sajilo Visa
easy care