काठमाडौं ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजना तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ सम्पन्न भएको छ।
कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डाटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो।
नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आईटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्दै नयाँ व्यावसायिक अवसर र सहकार्य विस्तार गर्नुपर्ने बताए। नेपाली आईटी कम्पनीहरूको सेवा र प्रविधि समाधानलाई विश्व बजारसम्म पुर्याउने उद्देश्यले रोडशो आयोजना गरिएको उनको भनाइ थियो।
कार्यक्रममा स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्वीट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्ध र नेपाली आईटी कम्पनी तथा स्वीस व्यवसायबीच सहकार्यका सम्भावनाबारे जानकारी दिएको थियो।
नास–आईटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा विश्व बजारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको छ। स्वीट्जरल्यान्डमा आयोजित रोडशो पनि नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय व्यवसाय, लगानी र सहकार्यका सम्भावनासँग जोड्ने प्रयासका रूपमा आयोजना गरिएको हो।
रोडशो स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन (एसडीसी) लगायतका साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको थियो भने स्विस नेपाल चेम्बर अफ कमर्स सह–आयोजकका रूपमा रहेको थियो।
प्रकाशित: ५ आश्विन २०८३, सोमबार