एटीएण्डटीको स्पेक्ट्रम विस्तारपछि प्रिपेड मोबाइल सेवा प्रदायक क्रिक्रेटले फाइभजी एफडब्ल्यूए सेवा सुरु गर्‍यो

  • Technology Khabar | ३ आश्विन २०८३, शनिबार
एटीएण्डटीको स्पेक्ट्रम विस्तारपछि प्रिपेड मोबाइल सेवा प्रदायक क्रिक्रेटले फाइभजी एफडब्ल्यूए सेवा सुरु गर्‍यो
फाइल तस्बिर

काठमाडौं ।

क्रिक्रेट वायरलेसले एटीएण्डटीको नेटवर्क र स्पेक्ट्रम प्रयोग गर्दै फाइभजीमा आधारित फिक्स्ड वायरलेस एक्सेस (एफडब्ल्यूए) होम ब्रोडब्यान्ड सेवा सुरु गरेको छ।

प्रिपेड मोबाइल सेवा प्रदायक क्रिक्रेट वायरलेसले क्रिकेट फाइभजी होम इन्टरनेटनामक सेवामार्फत होम ब्रोडब्यान्ड बजारमा प्रवेश गरेको हो। कम्पनीले मोबाइल सेवाजस्तै सरल, कम लागत र सम्झौतारहित सेवा दिने जनाएको छ।

यस सेवामा करसहितको निश्चित मूल्य र सजिलो सेटअपको सुविधा रहेको कम्पनीले जनाएको छ। तर, प्रयोगकर्ताले क्रिकेट गेटवे नामक ग्राहक उपकरण (सीपीई) किन्नुपर्नेछ, जसको मूल्य करबाहेक ४९.९९ अमेरिकी डलर छ।

क्रिक्रेट वायरलेसका विद्यमान ग्राहकले प्रतिमहिना ४५ डलरमा होम इन्टरनेट थप्न सक्नेछन्। कम्पनीले मोबाइल र होम इन्टरनेटलाई समेटिएको प्याकेज प्रतिमहिना ७५ डलरमा उपलब्ध गराउने जनाएको छ।

टेलिकम्स डटकमका अनुसार क्रिकेट फाइभजी होम इन्टरनेटमा असीमित डेटा उपलब्ध हुनेछ। तर अत्यधिक डाटा प्रयोग गर्ने ग्राहकको इन्टरनेट गति घटाउन सकिने कम्पनीले सुरुदेखि नै स्पष्ट पारेको छ। कम्पनीका अनुसार नेटवर्कमा अत्यधिक भीड भएको अवस्थामा केही दुर्लभ परिस्थितिमा प्रयोगकर्ताको गतिलाई कम्तीमा ३० मिनेटका लागि उल्लेख्य रूपमा घटाउन सकिन्छ।

यो प्रावधानले एटीएण्डटीले एफडब्ल्यूए बजारमा प्रवेश गर्दा सामना गरेको अवस्थाको सम्झना गराउँछ। केही समयसम्म कम्पनीले एफडब्ल्यूए बजारमा भेराइजन र टी-मोबाइल यूएसजस्ता प्रतिस्पर्धीलाई अघि बढ्न दिएको थियो। एफडब्ल्यूए सेवाको विस्तारले आफ्नो मोबाइल नेटवर्कमा थप दबाब पर्न सक्ने चिन्ताका कारण एटीएन्डटीले यस क्षेत्रमा आक्रामक रूपमा अघि बढ्न चाहेको थिएन।

तर पछिल्लो समय एटीएण्डटीले मोबाइल नेटवर्कमा आधारित होम ब्रोडब्यान्ड सेवालाई बढी प्राथमिकता दिएको छ। जुनको अन्त्यसम्म कम्पनीको कुल एफडब्ल्यूए ग्राहक संख्या २६ लाख पुगेको थियो।

पछिल्लो त्रैमासिकमा एफडब्ल्यूए ग्राहक संख्या २ लाख ७९ हजारले थपिएको थियो। यो पोस्टपेड मोबाइल र फाइबर सेवाको ग्राहक वृद्धिभन्दा कम भए पनि एफडब्ल्यूए अब ती सेवाको नजिक पुगेको छ। यो एटीएन्डटीको मोबाइल र ब्रोडब्यान्ड सेवाबीच बढ्दो एकीकरण रणनीतिको पनि हिस्सा हो।

जुलाईमा एटीएण्डटीले इकोस्टारबाट ३.४५ गिगाहर्ज र ६०० मेगाहर्ज ब्यान्डमा २३ अर्ब डलर बराबरको स्पेक्ट्रम खरिद पूरा गरेको थियो। त्यसबेला कम्पनीले यी फ्रिक्वेन्सीले आफ्नो फाइभजी नेटवर्कको क्षमता र गति बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएको थियो।

यसको लाभ मोबाइल सेवासँगै एफडब्ल्यूए सेवाले पनि पाउनेछ। यसबाट राम्रो गुणस्तरको सेवा उपलब्ध गराउनुका साथै एटीएन्डटीको नेटवर्कमा थप एफडब्ल्यूए ग्राहकलाई सेवा दिन सकिनेछ।

क्रिक्रेट वायरलेसको होम ब्रोडब्यान्ड बजारमा प्रवेशले यही क्षमतालाई देखाएको छ। कम्पनीले एटीएण्डटीको नेटवर्कलाई आफ्नो सेवाको प्रमुख आधारका रूपमा प्रस्तुत गरेको छ। साथै, आफ्नै कम लागतको एमभीएनओ सेवाको विस्तारका रूपमा पनि नयाँ सेवालाई अघि बढाएको छ।

‘ग्राहकहरू छिटो र भरपर्दो इन्टरनेट चाहन्छन्, जुन किन्न सरल, बुझ्न सजिलो र आफूले विश्वास गर्ने ब्रान्डबाट उपलब्ध होस्,’ क्रिक्रेट वायरलेसकी अध्यक्ष एन्जेला रिटगर्सले भनिन्। ‘क्रिकेट फाइभजी होम इन्टरनेटमार्फत हामी आवश्यक इन्टरनेट सेवा ग्राहकले अपेक्षा गरेको मूल्यमा उपलब्ध गराउँदै जटिलता हटाइरहेका छौँ। यो जोडिइरहने अझ सरल तरिका हो।’

एटीएन्डटीका लागि भने यो फिक्स्ड वायरलेस सेवा बजारमा पुग्ने अर्को माध्यम बनेको छ।

प्रकाशित: ३ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार