काठमाडौं ।
भारतमा आजदेखि एप्पलको नयाँ आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको बिक्री सुरु भएको छ। कम्पनीले गत हप्ता यी दुवै फोन सार्वजनिक गरेको थियो र ग्राहकहरूले अब अनलाइन तथा अफलाइन स्टोरहरूबाट यिनलाई खरिद गर्न सक्छन्।
नयाँ ‘प्रो’ सिरिजमा धेरै हार्डवेयर र क्यामरासम्बन्धी सुधारहरूका साथै बढी भण्डारण क्षमता (स्टोरेज) भएका मोडलहरू पनि उपलब्ध गराइएका छन्।
बिक्री सुरु भएसँगै, एप्पल र विभिन्न खुद्रा बिक्री केन्द्रहरू (रिटेल प्लेटफर्म) मार्फत गरिने खरिदमा विभिन्न अफरहरू उपलब्ध छन्। कम्पनीले आज सेप्टेम्बर १८ तारिखदेखि तोकिएका बजार वा देशहरुमा दुबै भेरिएन्टका मोडलहरु बिक्रीका लागि राखेको छ।
उक्त फोन संयुक्त राज्य अमेरिकासहित भारत, बेलायत, चीन, जर्मनी, अष्ट्रेलिया, क्यानडा, फ्रान्स र दक्षिण कोरियामा पनि आजैदेखि उपलब्ध भएका छन तर नेपाली बजारमा भने केहि सातापछि मात्र औपचारिकरुपमा आउनेछ।
कम्पनीले आईफोन १८ प्रोको शुरुवाती मूल्य १,१९९ अमेरिकी डलर तोकेको छ भने आईफोन १८ प्रो म्याक्सको शुरुवाती मूल्य १,२९९ अमेरिकी डलर तोकेको छ। दुबै भेरिएन्टहरु न्यूनतम २५६ जीबी स्टोरेजका साथ आउँछन्।
आईफोन १८ प्रोको ५१२ जीबी मोडलको मूल्य १,३९९ डलर, १ टिबी मोडलको मूल्य १,७९९ डलर र २ टिबी मोडलको मूल्य २,३९९ डलर रहेको छ।
यस्तै, आईफोन १८ प्रो म्याक्सको ५१२ जीबी मोडलको मूल्य १,४९९ डलर, १ टिबी मोडलको मूल्य १,८९९ डलर र २ टिबी मोडलको मूल्य २,४९९ डलर रहेको छ।
यसैगरी भारतीय बजारमा आईफोन १८ प्रोकोको २५६ जीबी मोडलको मूल्य १,६४,९०० भारतीय रुपैयाँ तोकिएको छ। ५१२ जीबी मोडलको मूल्य १,८९,९०० भारतीय रुपैयाँ, १ टिबी मोडलको मूल्य २,३९,९०० भारतीय रुपैयाँ र २ टिबी मोडलको मूल्य ३,१४,९०० भारतीय रुपैयाँ रहेको छ।
भारतीय बजारमा आईफोन १८ प्रो म्याक्सको २५६ जीबी मोडलको मूल्य भारु १,७९,९०० तोकिएको छ। यसैगरी, ५१२ जीबी मोडल २,०४,९०० भारतीय रुपैयाँमा, १ टिबी मोडल २,५४,९०० भारतीय रुपैयाँमा र २ टिबी मोडल ३,२९,९०० भारतीय रुपैयाँमा उपलब्ध छ।
यो फोन बर्गन्डी, ग्लेसियर, सिल्भर र ब्ल्याक रङका विकल्पहरूमा उपलब्ध छ।
नेपालमा कहिले आउँछ ?
नेपाली बजारमा आईफोन १८ प्रो सिरिज सेप्टेम्बरको अन्तिममा मात्र उपलब्ध हुने भएको छ।
नेपालमा जेननेक्स्टले एप्पलको डिभाइसहरु आधिकारीकरुपमा आयात तथा बितरण गर्दै आएको छ। टेक्नोलोजीखबरलाई कम्पनीका उच्च अधिकारीले दिएको जानकारी अनुसार सेप्टेम्बर महिना भित्रै आईफोन १८ प्रो सिरिज आउने भएपनि मिति तय भईसकेको छैन्।
यसको अर्थ नेपाली आईफोनप्रेमीहरुले अझै केहि दिन आईफोन १८ प्रो सिरिज किन्नका लागि कुर्नुपर्ने हुन्छ।
यसका साथै आईफोन १८ प्रो सिरिजको मूल्य कति हुन्छ भन्ने पनि अहिले जानकारी छैन्।
यसबिचमा एप्पल उत्पादन बेच्ने ईभोस्टोरले आईफोन १८ प्रो सिरिज चाँडै आउने पेज लाइभ गरेको देखिन्छ।
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार