तपाईंको बजारले सार्वजनिक गर्यो ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
तपाईंको बजारले सार्वजनिक गर्यो ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर

काठमाडौं ।

५ हजार जनालाई स्वरोजगारमा जोड्‌ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ।

कम्पनीको दावी अनुसार नेपालमा राइड सेयरिङ कम्पनीहरूको संख्या बढ्‌दै गए पनि राइडरलाई आफ्नै सवारीसाधनको मालिक बनाउने गरीको योजना हालसम्म नआएकोले यही समस्याको समाधान गर्ने उद्देश्यले बजारले नयाँ स्वरोजगार योजना ल्याइएको हो।

योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा इलेक्ट्रिक स्कुटर लिन सक्नेछन्। कम्पनीका अनुसार राइडरहरूले दैनिक आम्दानीबाट किस्ता तिर्दै स्कुटरको स्वामित्व हासिल गर्न सक्नेछन्।

हाल बजारमा विभिन्न नेपाली कम्पनीहरूले राइड सेयरिङमा सञ्चालन गर्न दैनिक ८०० देखि १,००० रुपैयाँसम्ममा बाइक तथा स्कुटर भाडामा दिँदै आएका छन्। तपाईंको बजारले पनि करिब त्यही रकममा राइडरलाई स्कुटरको मालिक बन्ने अवसर प्रदान गरेको जनाएको छ।

यस योजनामा सहभागी हुन राइडरहरूले राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र फोटो अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई नयाँ स्वरोजगार योजनामा जोड्ने लक्ष्यसहितको काम दुई वर्षअघिदेखि सुरु गरिएको बताएकी छिन्।

विभिन्न बाधा र अवरोधका कारण योजना अघि बढाउन नसकिएको भए पनि अहिले बेस्ट फाइनान्स र याङ्गोको सहकार्यमा कार्यक्रम सुरु गर्न सफल भएको उनले बताइन्।

उनका अनुसार राइड सेयरिङ क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग बढाउँदै छुट्टै विद्युतीय राइडिङ इकोसिस्टम विकास गर्ने कम्पनीको योजना छ।

तपाईंको बजार र भेट्रा मोटर्स प्राइभेट लिमिटेडको सहकार्यमा सार्वजनिक गरिएको भेट्रा एरोनको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार स्कुटरले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ।

नेपाली सडक तथा भूगोललाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाटको मोटर र १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको छ।

भेट्रा मोटर्सका निर्देशक मनिष श्रेष्ठले नेपाली सडकका उकाली ओरालीलाई समेत ध्यानमा राखेर स्कुटर तयार गरिएको बताए।

राइडरलाई सहज रूपमा विद्युतीय स्कुटर उपलब्ध गराउने उद्देश्यले तपाईंको बजारको पानीपोखरीस्थित कार्यालयमार्फत शून्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। उक्त वित्तीय सुविधाका लागि तपाईंको बजारसँग बेस्ट फाइनान्सले सहकार्य गरेको छ। राइडरलाई लक्षित वित्तीय सुविधा उपलब्ध गराउने विषयमा बेस्ट फाइनान्स र तपाईंको बजारबीच सहकार्य भएको जनाइएको छ।

तपाईंको बजारका प्रबन्ध निर्देशक सुशिल स‌ङ्ग्रौलाका अनुसार कम्पनीले हाल नेपालभर इलेक्ट्रिक भ्यान तथा इलेक्ट्रिक बसमा सहज फाइनान्स र सहज बिक्री वितरण गर्दै आएको छ। त्यसैको अर्को आयामका रूपमा यो योजनालाई हेरिएको उनले बताए।

कम्पनीका अनुसार यस योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्नुका साथै राइड सेयरिङ क्षेत्रमा नयाँ रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

यो सुविधा तपाईंको बजारका पानीपोखरी, बुटवल र बिर्तामोडस्थित शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...