काठमाडौं ।
च्याटजीपीटी र कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोटको प्रयोग लाखौँ मानिसको दैनिक मानिसको हिस्सा बनिसकेको छ।
तर गोपनीयताका विज्ञहरुले एआईसँगको कुराकानीमा आफूले सेयर गर्ने सूचनाको मात्रा र संवेदनशीलतालाई कम प्रयोग गर्ने गरेको चेतावनी दिएका छन्।
टेलिग्राफका अनुसार हफपोस्टले उदद्धृत गरेका विज्ञहरुका अनुसार प्रयोगकर्ताहरुले विशेष सावधानी अपनाउनु पर्ने ५ प्रकारका सूचनाहरु रहेका छन्:
पहिचान खुलाउने व्यक्तिगत डाटा
पूरा नाम, घरको ठेगाना, टेलिफोन नम्बर र पासपोर्ट वा चलक अनुमति पत्र नम्बरजस्ता सरकारी कागजातका विवरणलाई व्यक्तिगत पहिचान खुलाउने सूचना मानिन्छ।
विज्ञहरुले च्याटबोटमा यस्ता विवरणहरु सेयर गर्दा रेकर्ड हुन सक्ने जोखिम रहेको बताएका छन्। जसले गर्दा पहिचान चोरी, फिसिङ ठगी र तेस्रो पक्ष द्वारा तथ्याङ्कको प्रयोग जस्ता समस्या आइपर्न सक्छ। च्याटबोटमा अपलोड गरिने पहिचान खुल्ने विवरण हटाउन सुझाव दिइएको छ।
व्यक्तिगत जीवनका अति निजी विवरण
एआईले प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने भएकाले च्याटबोटसँगको कुराकानी सामान्य वेबको खोजीभन्दा बढी व्यक्तिगत जस्तो लाग्न सक्छ।
विज्ञहरूका अनुसार यसले मानिसमा सुरक्षाको झूटो अनुभूति पैदा गर्न सक्छ र उनीहरूलाई व्यक्तिगत जानकारी सेयर गर्न बढी सहज बनाउन सक्छ।
यस्ता कुराकानीमा सेयर गरिएका संवेदनशील विवरणलाई गोपनीयता कायम राख्न कानुनी दायित्व भएको विश्वासिलो व्यक्ति वा पेसाकर्मीसँग सेयर गरेजस्तो व्यवहार गर्नु हुँदैन।
स्वास्थ्यसम्बन्धी जानकारी र कागजात
धेरै मानिस स्वास्थ्यसम्बन्धी जानकारी लिन च्याटबोटको प्रयोग गरिरहेका छन्। तर विज्ञहरूले यसमा पनि गोपनीयतासम्बन्धी चिन्ता व्यक्त गरेका छन्। उनीहरूले बिरामीको पहिचान खुलाउने कुनै पनि विवरण हटाएर मात्र स्वास्थ्य अभिलेख वा व्यक्तिगत स्वास्थ्यसम्बन्धी तथ्याङ्क सेयर गर्न सुझाव दिएका छन्।
कार्यालयका गोप्य सूचना
विज्ञहरूले कर्मचारीहरूलाई कम्पनीका आन्तरिक तथ्याङ्क, गोप्य प्रतिवेदन, ग्राहकसम्बन्धी जानकारी, स्रोत कोड च्याटबोटमा नराख्न चेतावनी दिएका छन्। उनीहरूका अनुसार संवेदनशील विवरण समावेश भएको एउटै अनुरोधले पनि कम्पनी वा कर्मचारीका लागि सम्झौतासम्बन्धी र नियामकीय समस्या निम्त्याउन सक्छ।
वित्तीय जानकारी
बैंकिङ विवरण, लगानी खातासम्बन्धी जानकारी, क्रेडिट कार्ड, आम्दानीका कागजात वा कर विवरणस विज्ञहरूले च्याटबोटमा साझा नगर्न सुझाव दिएका अर्को वर्गका सूचना हुन्। यस्ता जानकारी बाहिरिएमा प्रयोगकर्ता तथा उनका परिवारमाथि ठगी वा व्यक्तिगत विवरणलाई लक्षित आक्रमण गर्न प्रयोग हुन सक्छ।
विज्ञहरुले प्रयोगकर्ताहरुलाई च्याटबोटमा गोपनीयता सेटिङ जाच गर्न र प्लेटफर्मले अनुमति दिएमा कुराकानीलाई एआई मोडलको प्रशिक्षणमा प्रयोग गर्ने सुविधा सीमित गर्न सुझाव दिएका छन्।
प्रकाशित: ३१ भाद्र २०८३, बुधबार