सामसङ र एसके हाइनिक्सद्वारा केप्कोको १९ अर्ब डलरको विद्युत् अग्रिम भुक्तानी प्रस्ताव अस्वीकार

  • Technology Khabar | ३० भाद्र २०८३, मंगलवार
सामसङ र एसके हाइनिक्सद्वारा केप्कोको १९ अर्ब डलरको विद्युत् अग्रिम भुक्तानी प्रस्ताव अस्वीकार

काठमाडौं ।

दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर निर्माता सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले विद्युत् आपूर्तिका लागि २५ ट्रिलियन वन (करिब १८.७ अर्ब अमेरिकी डलर) अग्रिम भुक्तानी गर्नुपर्ने प्रस्ताव अस्वीकार गरेका छन्।

कोरियाली सरकारी विद्युत् कम्पनी कोरिया इलेक्ट्रिक पावर कर्पोरेसन (केप्को) ले निर्माणाधीन सेमिकन्डक्टर मेगा क्लस्टरका लागि आवश्यक विद्युत् पूर्वाधार विकास गर्न चिप निर्माता कम्पनीहरूबाट उक्त रकम अग्रिम लिन प्रस्ताव गरेको थियो। सांसद ली चुल–ग्युलाई बुझाइएको दस्तावेजमा दुवै कम्पनीले आन्तरिक समीक्षा गरेपछि प्रस्ताव स्वीकार गर्न कठिन हुने जानकारी केप्कोलाई दिएको उल्लेख छ।

उक्त दस्तावेज सांसद लीको कार्यालयले सार्वजनिक गरेको रोयटर्सले उल्लेख गरेको छ।

सम्बन्धित विषयमा जानकार एक कम्पनी अधिकारीका अनुसार सामसङ र एसके हाइनिक्सले यति ठूलो रकम अग्रिम रूपमा भुक्तानी गर्नु आवश्यक छ कि छैन भन्ने विषयमा प्रश्न उठाएका छन्। विशेषगरी सेमिकन्डक्टरको माग दीर्घकालमा कति टिकाउ हुन्छ भन्ने अनिश्चितताका कारण ठूलो रकम पहिले नै भुक्तानी गर्न उनीहरू अनिच्छुक देखिएका हुन्।

संवेदनशील विषय भएकाले नाम सार्वजनिक नगर्ने शर्तमा ती अधिकारीले रोयटर्ससँग यस्तो बताएका हुन्। सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।

यसअघि दक्षिण कोरियाली अखबार चोसुन इल्बोले नयाँ सेमिकन्डक्टर उत्पादन कारखानाले भविष्यमा खपत गर्ने अनुमान गरिएको विद्युत्को रकम अग्रिम भुक्तानी गर्न केप्कोले दुवै कम्पनीलाई प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो। उक्त रकमबाट नयाँ कारखानालाई विद्युत् आपूर्ति गर्न आवश्यक पूर्वाधार निर्माणमा लगानी गर्ने केप्कोको योजना थियो।

प्रकाशित: ३० भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार