ड्रोनबाट जोगिन जालको सहारा

  • Technology Khabar | २६ भाद्र २०८३, शुक्रबार
ड्रोनबाट जोगिन जालको सहारा
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

पाकिस्तानको अफगानिस्तान सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले बढ्दो ड्रोन आक्रमणको जोखिम घटाउन भवन र प्रहरी परिसरमाथि विशेष जाल टाँग्न थालेको छ। युक्रेन युद्धबाट प्रभावित यो सस्तो उपाय ड्रोन हमलाविरुद्ध सुरक्षाको नयाँ माध्यम बनेको छ।

खैबर जिल्लाका प्रहरी अधिकारी वकार अहमदले बजारमा सहजै पाइने ड्रोनलाई परिमार्जन गरी विस्फोटक खसाल्न प्रयोग गर्न सकिने भएकाले सुरक्षाकर्मीको रक्षाका लागि जाल जडान गरिएको बताए। बलियो धागोबाट बनाइएका जालले ड्रोनलाई अल्झाउनुका साथै मोर्टार वा ग्रेनेड रोक्दै क्षति कम गर्न सहयोग गर्छन्।

तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) को गतिविधि बढेको खैबर पख्तुनख्वामा सन् २०२४ यता ड्रोनलाई आक्रमण र निगरानीका लागि व्यापक रूपमा प्रयोग गरिएको छ। प्रान्तका करिब ३० प्रतिशत प्रहरी चौकीमा अझै ड्रोन तथा प्रतिड्रोन उपकरण नभएको एक वरिष्ठ अधिकारीले बताएका छन्।

प्रहरीले ड्रोनसम्बन्धी तालिम र प्रतिड्रोन उपकरणको प्रयोग बढाएको छ। गत महिना ५२ जना प्रहरीलाई पहिलोपटक ड्रोनसम्बन्धी तालिम दिइएको थियो। टिटिपीका एक कमान्डरले आत्मघाती आक्रमणको विकल्पका रूपमा ड्रोन प्रयोग बढाइएको र समूहसँग ‘हजारौँ’ ड्रोन रहेको दाबी गरेका छन्।

प्रहरी मोहम्मद आमिरले जाल जडानपछि ड्रोन र ग्रेनेड आक्रमणको जोखिम उल्लेखनीय रूपमा घटेको बताए। तर स्थानीय बासिन्दाले तालिबानबाट उत्पन्न सुरक्षा खतरा नियन्त्रण गर्न थप प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।-रासस

प्रकाशित: २६ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...