काठमाडौं ।
मेटाले लामो समयदेखि घोषणा गर्दै आएको व्यक्तिगत एआई एजेन्ट सार्वजनिक गरेको छ। यसलाई प्रयोग गर्न कुनै प्राविधिक ज्ञान आवश्यक नपर्ने कम्पनीले जनाएको छ।
‘म्युज’ नाम दिइएको यो एआई एजेन्टले प्रयोगकर्ताको तर्फबाट अनलाइन किनमेल गर्ने, इमेल तयार गरी पठाउने, यात्रा योजना बनाउने तथा उत्पादकत्वसँग सम्बन्धित अन्य काम गर्न सक्छ।
इन्ग्याजेटका अनुसार मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले मानिसलाई विभिन्न काम पूरा गर्न सक्रिय रूपमा सहयोग गर्ने तर अन्य प्लेटफर्मभन्दा सहज रूपमा प्रयोग गर्न सकिने एआई एजेन्ट निर्माण गर्ने आफ्नो लक्ष्यबारे यसअघि बताएका थिए। आफ्नै एप र वेबसाइट रहेको म्युज मेटा एआई असिस्टेन्टभन्दा बढी क्षमतावान् रहेको कम्पनीले जनाएको छ, किनकि यसले जटिल काम स्वतन्त्र रूपमा गर्न सक्छ।
“कुनै व्यक्तिले म्युज लाई आफ्नो लक्ष्य बताएपछि यसले व्यक्तिगत योजना बनाउन, समय र स्रोत व्यवस्थापन गर्न र त्यसपछि आफैं काम अघि बढाउन सहयोग गर्छ,” मेटाले ब्लग पोस्टमा भनेको छ।
म्युज ले प्रयोगकर्ताका लागि के–कति काम गर्न सक्छ भन्ने कुरा प्रयोगकर्ताले आफ्नो डिजिटल जीवनका कति भागमा यसलाई पहुँच दिन्छ भन्नेमा निर्भर हुनेछ। म्युज ले मेटाका आफ्नै एपसँगै गुगल वर्कस्पेस, टिकेकमास्टर, ओपनटेबल, स्पोटीफाई र एप्पल हेल्थजस्ता तेस्रो पक्षका सेवासँग पनि जोडिन सक्छ।
उदाहरणका लागि, प्रयोगकर्ताले इन्स्टाग्राम र फेसबुकमा सुरक्षित गरेका सबै रेसिपी भिडियो खोजेर तिनलाई सजिलै पढ्न र हेर्न मिल्ने ढाँचामा व्यवस्थित गर्न म्युज लाई भन्न सक्छन्। यसले किनमेल र वेब ब्राउजिङ गर्न सक्ने भएकाले किराना सामानको सूची तयार गर्ने, मूल्य तुलना गर्ने र प्रयोगकर्ताको तर्फबाट सामान अर्डर गर्न पनि सक्छ।
सार्वजनिक एपीआई उपलब्ध भएमा म्युज ले तेस्रो पक्षका सेवासँग आफैं कनेक्सन पनि बनाउन सक्छ। मेटाका एआई उत्पादनका उपाध्यक्ष विशाल शाहले दिएको जानकारीअनुसार अत्यधिक क्षमतावान् एआई उत्पादन भएकाले आफ्नै सफ्टवेयरसमेत बनाउन सक्ने म्युज का लागि कामको दायरा धेरै सीमित छैन।
उनका अनुसार म्युज लाई जति जटिल काम गर्न दिइन्छ, प्रयोगकर्ताले आफ्नो डिजिटल जीवनका थप भागमा पहुँच दिन र आफूलाई के महत्वपूर्ण छ भन्ने जानकारी दिन त्यति नै सहज हुनुपर्छ।
तर यी सबै काम गर्न प्रयोगकर्ताले मेटा र आफ्नो एआई एजेन्टमाथि पर्याप्त विश्वास गर्नुपर्ने हुन्छ। मेटाले एजेन्टले नियन्त्रणबाहिर गएर काम गर्न नदिन र प्रयोगकर्ताको डाटा सुरक्षित राख्न विभिन्न सुरक्षा प्रणाली निर्माण गरेको जनाएको छ।
इमेल पठाउने वा कुनै सामान खरिद पूरा गर्नुअघि म्युज ले प्रयोगकर्तासँग अनुमति माग्नेछ। तर कम जोखिम भएका केही काम भने प्रयोगकर्ताको स्वीकृतिबिना पनि पूरा गर्न सक्नेछ। म्युज ले प्रत्येक प्रयोगकर्ताको एजेन्ट र त्यसले पहुँच गर्न सक्ने डाटा अन्य प्रयोगकर्ताबाट अलग राख्न विशेष भर्चुअल मेसिन प्रयोग गर्ने कम्पनीले जनाएको छ।
यद्यपि एआई एजेन्ट अप्रत्याशित हुन सक्ने र म्युजले पनि केही गल्ती गर्ने मेटाले स्वीकार गरेको छ। कम्पनीका अनुसार सुरक्षा प्रणालीका कारण त्यस्ता गल्ती कम हुने र गल्ती हुँदा हुने क्षति पनि कम हुने अपेक्षा गरिएको छ।
जुकरबर्गको एआईलाई आम मानिससम्म पुर्याएर ‘सुपरइन्टेलिजेन्स’ विकास गर्ने योजनामा एआई एजेन्ट महत्वपूर्ण हिस्सा बनेको छ। मेटाले प्रयोगकर्ताले आफ्नो व्यक्तिगत काम तथा अझ महत्वाकांक्षी लक्ष्यका लागि म्युज लाई लगातार ब्याकग्राउन्डमा चलाइरहने भविष्यको परिकल्पना गरेको देखिन्छ।
मेटाले यात्राका क्रममा सहज रूपमा प्रयोग गर्न सकियोस् भनेर म्युज लाई व्हाट्सएप र आफ्ना स्मार्ट चस्मामा पनि समावेश गर्ने भएको छ।
तर प्रयोगकर्तालाई आफ्नो जीवनका यति धेरै पक्ष मेटाको एआई उत्पादनसँग साझा गर्न लगाउनु चुनौतीपूर्ण हुन सक्छ।
मेटाले हालै आफ्ना एआई स्मार्ट चस्मासम्बन्धी गोपनीयताको विषयमा आलोचना खेपेको थियो। सार्वजनिक इन्स्टाग्राम पोस्टबाट एआई तस्बिर बनाउन दिने विवादास्पद सुविधा पनि सार्वजनिक विरोधपछि कम्पनीले फिर्ता लिएको थियो।
गोपनीयताको विषयमा मेटाले प्रयोगकर्तालाई म्युज सँगका कुराकानीलाई थप एआई प्रशिक्षणका लागि प्रयोग हुन नदिने विकल्प दिने भएको छ। कम्पनीले म्युज सँग भएका कुराकानीका विवरण आफ्नो विज्ञापन प्रणालीसँग साझा नगर्ने जनाएको छ। तर किनमेलजस्ता केही गतिविधिले प्रयोगकर्ताले देख्ने विज्ञापनमा ‘अप्रत्यक्ष रूपमा’ प्रभाव पार्न सक्ने मेटाले जनाएको छ।
म्युज प्रयोग गर्न कुन अवस्थामा मेटा एआईको सदस्यता आवश्यक पर्छ भन्ने पनि स्पष्ट छैन। कम्पनीका अनुसार अधिकांश आवश्यक सुविधा निःशुल्क हुनेछन्, तर थप सुविधा प्रयोग गर्न चाहनेले शुल्क तिर्नुपर्नेछ।
प्रकाशित: २६ भाद्र २०८३, शुक्रबार