ड्रोनमा अमेरिकाको नयाँ कर

  • Technology Khabar | १९ भाद्र २०८३, शुक्रबार
ड्रोनमा अमेरिकाको नयाँ कर

काठमाडौं ।

अमेरिकाले चीनमा निर्भरता घटाउने र स्वदेशी ड्रोन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबारदेखि ड्रोन तथा केही उपकरणमा १०० प्रतिशतसम्म नयाँ कर लागू गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा शुल्कसम्बन्धी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। ह्वाइट हाउसले ड्रोन आयातबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमलाई शुल्कको प्रमुख कारण बताएको छ। २५ किलोग्रामभन्दा बढी तौलका ड्रोन, थर्मल इमेजिङ क्षमता भएका ड्रोन र डकिङ स्टेसनमा १०० प्रतिशत तथा साना ड्रोनमा २५ प्रतिशत शुल्क लगाइएको छ।

चीनले अमेरिकी निर्णयको विरोध गर्दै शुल्क फिर्ता लिन आग्रह गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयले यसबाट विश्वव्यापी ड्रोन आपूर्ति शृङ्खला प्रभावित हुने र प्रतिस्पर्धात्मक बजार वातावरण कमजोर हुने बताएको छ।

सन् २००६ मा स्थापना भएको चिनियाँ कम्पनी डीजेआईले विश्व ड्रोन बजारको दुई तिहाइभन्दा बढी हिस्सा ओगटेको छ। डीजेआई सन् २०२२ देखि चिनियाँ सेनासँग सम्बन्धित कम्पनीहरूको अमेरिकी सूचीमा रहेको र अमेरिकी प्रविधिमा पहुँचसम्बन्धी प्रतिबन्धको सामना गर्दै आएको छ।-रासस

प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...