अटो टेक

चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
Global IME Bank

चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो ।

बैठकले विद्यालयका सवारीसाधनमा १५ दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गर्नुपर्ने र त्यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछ। गति नियन्त्रण प्रविधि जडान नगरेका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, चालक तथा सहचालकलाई समय–समयमा अनुशिक्षण तथा मादक पदार्थ सेवन नियन्त्रणका उपाय प्रभावकारी बनाउनसमेत बैठकले निर्णय गरेको छ।

विद्यालयले सवारी चालकलाई जिम्मेवारी दिनुअघि हरेक दिन मापसे जाँच गर्ने र त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउनुपर्नेछ। बैठकमा जिल्ला सुरक्षा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख, संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि, शिक्षक, प्राविधिक कम्पनीका प्रतिनिधि तथा विद्यालय र शिक्षासँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो।-रासस

Sajilo Visa
easy care