काठमाडौं ।
नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डाटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन्।
उनीहरूले अटोमोबाइलमा कृत्रिम बौद्धिकता -एआई) को प्रयोग बढ्दै गएसँगै नेपालले सवारीसाधनलाई केवल आयात र बिक्रीको वस्तुका रूपमा नभई डेटा, प्रविधि, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजीः ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ संवादमा उद्योग, सरकार, अनुसन्धान तथा शैक्षिक क्षेत्रका प्रतिनिधिले अटोमोबाइलमा एआईको सम्भावनादेखि त्यसका लागि आवश्यक नीति, पूर्वाधार र जनशक्तिसम्मका विषयमा धारणा राखेका थिए।
संवादमा वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले एआईको प्रयोग अटोमोबाइल क्षेत्रमा मात्र नभई ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत गर्न सकिने बताए । उनका अनुसार सवारीसाधनमा जडित सेन्सर तथा अन्य उपकरणबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरेर प्रयोगकर्तालाई थप सुरक्षित, सहज र प्रभावकारी सेवा दिन सकिन्छ।
वैद्यले एआईको प्रयोगबाट सडकको अवस्था पहिचान गर्नेदेखि सवारी चलाउने शैली सुधार गर्नेसम्मका काम गर्न सकिने बताए। त्यस्तै, एआईलाई रुट प्लानिङमा प्रयोग गरेर सवारीको ब्याट्री सकिनुअघि नै उपयुक्त चार्जिङ स्टेसनको सुझाव दिन सकिने उनको भनाइ छ। मौसम तथा वर्षासम्बन्धी तथ्यांकलाई सवारीको प्रणालीसँग जोडेर सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल मोड परिवर्तन गर्न सकिने सम्भावना पनि उनले औंल्याए ।
तर, नेपालमा स्वचालित सवारी अर्थात् अटोनोमस ड्राइभिङको प्रयोग तत्काल सहज नरहेको वैद्यको भनाइ छ।
यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले पनि आधुनिक अटोमोबाइल क्षेत्रमा डाटा व्यवस्थापन र सरकारी नियमनको आवश्यकता औंल्याए। नेपालमा विद्युतीय तथा प्रविधियुक्त सवारीसाधनको प्रयोग बढ्दै जाँदा सवारीसाधनबाट उत्पादन हुने डेटा, गुणस्तर परीक्षण, साइबर सुरक्षा र प्रविधिको नियमनमा सरकारको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
कुनै वस्तु आयात गर्नुअघि र आयात भइसकेपछि त्यसको डेटा कसरी संकलन गर्ने, गुणस्तर कसरी मापन गर्ने र प्राप्त तथ्यांकलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट प्रणाली आवश्यक रहेको उनले बताए।
पौडेलले साइबर सुरक्षा र डेटा नेपालमै राख्ने सम्भावना तथा त्यसका लागि लाग्ने लागतबारे समेत नीतिगत रूपमा अध्ययन गर्नुपर्ने बताए।
सवारीसाधनमा सफ्टवेयर, कनेक्टिभिटी, सेन्सर र डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा सवारीसम्बन्धी डेटा पनि साइबर सुरक्षासँग जोडिने उनको भनाइ छ । उनले नेपालमा नयाँ इनोभेसन ल्याब स्थापना गर्ने विषयसँगै सरकारले कुन क्षेत्रमा कति समय र स्रोत लगानी गर्ने भन्ने प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा नेपालको आवश्यकता र आर्थिक सम्भावनाका आधारमा प्राथमिकता तोकेर अनुसन्धान अघि बढाउनुपर्ने उनको धारणा छ ।
अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधि भित्रिए पनि त्यसअनुसारको जनशक्ति उत्पादनमा नेपाल कमजोर रहेको टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले बताए । उनका अनुसार नेपालमा विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग बढिरहेको भए पनि त्यसअनुसार प्रविधि, अनुसन्धान र दक्ष जनशक्ति विकासमा पर्याप्त ध्यान पुगेको छैन।
थापलियाका अनुसार नेपालका अधिकांश कलेज तथा विश्वविद्यालयमा अझै प्रोग्रामिङ, वेब डेभलपमेन्ट, डेटाबेस, नेटवर्किङ लगायतका परम्परागत विषयमा बढी जोड दिइन्छ। तर आधुनिक सवारीमा प्रयोग भइरहेका सेन्सर, स्वचालन, एआई तथा अन्य डिजिटल प्रणालीका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान जानुपर्ने आवश्यक रहेको उनले बताए।
अब एआई, साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर र डिजिटल फरेन्सिक जस्ता विषयलाई शिक्षामा प्राथमिकताका साथ समावेश गर्नुपर्ने उनले बताए । एउटा विषयका रूपमा एम्बेडेड सिस्टम पढेर मात्र भविष्यको आवश्यकता पूरा नहुने भन्दै उनले यसको उन्नत संस्करण, रोबोटिक्स, एज कम्प्युटिङ र अटोमोटिभ सफ्टवेयरसमेत विद्यार्थीले गहिराइमा अध्ययन गर्नुपर्ने उल्लख गरे ।
साथै, नेपाल एप्लाइड म्याथमेटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले एआईलाई रोजगारी खोस्ने प्रविधिका रूपमा मात्रै हेर्न नहुने बताइन् । उनका अनुसार एआईले काम गर्ने शैलीलाई सहज बनाउनुका साथै अनुसन्धान, विश्लेषण र नयाँ सम्भावना पहिचानमा समेत सहयोग पुर्याइरहेको छ। सरकारी तहमा पनि एआईको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ।
एआईसम्बन्धी बहसमा रोजगारी गुम्ने विषयलाई मात्रै प्राथमिकता दिइएको भन्दै उनले प्रविधिले कामलाई कसरी सरल र प्रभावकारी बनाइरहेको छ भन्ने विषयमा पनि बहस आवश्यक रहेको बताइन् ।
उनका अनुसार डेटा सुरक्षा पनि प्रविधिको विकाससँगै महत्वपूर्ण विषय बनेको छ। डेटा सुरक्षित राख्न आवश्यक पूर्वाधारमा लगानी गर्दै नेपाल उपभोक्ताको भूमिकाबाट माथि उठेर प्रविधि र अनुसन्धानमा योगदान गर्ने मुलुकका रूपमा अघि बढ्नुपर्ने उनले बताइन् ।
सरकार, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपालमा भएका अनुसन्धानलाई स्थानीय समस्या समाधानमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । स्थानीय डेटा प्रयोग गरेर कुनै क्षेत्रको समस्या समाधान गर्न सकिने भए त्यस्ता अनुसन्धानलाई व्यवहारमा लागू गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
यस्तै, नाइमा संवादमा व्यक्त विचारले नेपालको अटोमोबाइल क्षेत्र अब केवल सवारीसाधन आयात, बिक्री र सञ्चालनको विषयमा सीमित नरहेको देखाएको छ। एआई, सेन्सर, सफ्टवेयर, कनेक्टिभिटी, डेटा र स्वचालनले सवारीसाधनको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा नेपालले पनि त्यसअनुसार आफ्नो नीति, शिक्षा, अनुसन्धान र पूर्वाधार परिवर्तन गर्नुपर्ने देखिने आयोजकले जनाएको छ।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार