काठमाडौं ।
चीनको ई–कमर्स कम्पनी जेडी डटकमले दोस्रो त्रैमासिकमा अनुमानभन्दा बढी आम्दानी गरेको छ। चीनका ठूला अनलाइन खुद्रा बिक्री कार्यक्रममध्ये एक ६१८ सपिङ फेस्टिभलको बिक्री अवधि लामो भएकाले कम्पनीलाई सहयोग पुगेको हो।
जुनमा समाप्त भएको दोस्रो त्रैमासिकमा जेडी डटकमको कुल आम्दानी २.९ प्रतिशतले घटेर ३४६.४ अर्ब युआन (५१.३७ अर्ब अमेरिकी डलर) भएको छ। यद्यपि यो एलएसईजीले संकलन गरेको विश्लेषकहरूको औसत अनुमान ३४४.६ अर्ब युआनभन्दा बढी हो।
जेडी डटकमको त्रैमासिक आम्दानी एक दशकभन्दा बढी समयपछि पहिलोपटक घटेको हो। चीनको लामो समयदेखिको सम्पत्ति क्षेत्रको मन्दीका कारण रोजगारीको सुरक्षाप्रति चिन्ता र कमजोर उपभोक्ता विश्वास कायम रहँदा उपभोक्ता खर्च बढाउन कम्पनीसामु चुनौती देखिएको छ।
अमेरिकी बजारमा सूचीकृत कम्पनीका सेयरको मूल्य बजार खुल्नुअघि करिब २ प्रतिशतले घटेको थियो।
रोयटर्सका अनुसार यस वर्षको वार्षिक मध्यवर्षीय सपिङ कार्यक्रम कम्पनी स्थापना भएको जुन १८, १९९८ को अवसरसँग जोडिएको थियो। यो कार्यक्रम अघिल्लो वर्षभन्दा धेरै दिन सञ्चालन गरिएको थियो। यसले खुद्रा विक्रेता र ब्रान्डलाई ठूलो छुट तथा प्रचार अभियानमार्फत उपभोक्ता खर्च आकर्षित गर्न थप समय दिएको थियो।
त्रैमासिक अवधिमा जेडी डटकमको खुद नाफा ७.१ अर्ब युआन भएको छ। गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६.२ अर्ब युआन थियो।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार