नेपाल टेलिकमको पोस्टपेड सिमको नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्र कार्यालय जानुपर्ने

  • Technology Khabar | २९ श्रावण २०८३, शुक्रबार
नेपाल टेलिकमको पोस्टपेड सिमको नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्र कार्यालय जानुपर्ने

काठमाडौं ।

नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रियालाई सहज बनाउँदै आवश्यक विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न चाहने ग्राहकले प्रारम्भिक प्रक्रिया अनलाइनबाटै पूरा गर्न सक्नेछन्।

टेलिकमले आज एक विज्ञप्ति प्रकाशित गरीयस्तो व्यवस्था मिलाएको हो। कम्पनीका अनुसार ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत आफ्नो मोबाइल नम्बर राखेर ओटीपी प्राप्त गरेपछि हालको ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरण भर्नुपर्नेछ। त्यसक्रममा पछिल्लो एक महिनाको अवधिमा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत उपलब्ध गराउनुपर्नेछ।

अनलाइनमार्फत आवश्यक सबै विवरण भरेपछि भने नामसारीको अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको दूरसञ्चार कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। नामसारी दस्तुर बुझाउनुका साथै सक्कल नागरिकता प्रस्तुत गरी ग्राहक स्वयं वा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार नयाँ व्यवस्थाले कार्यालयमा पुग्नुअघि नै आवश्यक विवरण अनलाइनबाट भर्न सकिने भएकाले पोस्टपेड सिम नामसारीको प्रक्रिया थप सहज हुनेछ। कार्यालयमा व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सक्ने व्यवस्था गरिएकाले सेवाग्राहीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

हालका लागि अनलाइन नामसारी सेवा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध गराइएको छ। कर्पोरेट ग्राहकले भने पोस्टपेड सिम नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्नेछ।

नेपाल टेलिकमका अनुसार नयाँ व्यवस्थाको उद्देश्य पोस्टपेड मोबाइल नामसारी प्रक्रियालाई सहज, छरितो र सेवाग्राहीमैत्री बनाउनु हो।

प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार