काठमाडौं ।
डिजिटल उद्योगसम्बन्धी संस्था बिटकमको एक रिपोर्टअनुसार जर्मनीका करिब चारमध्ये एक जनाले आफ्नो यात्रा गन्तव्य वा बिदा बिताउने स्थान छनोट गर्न एआईको सुझाव प्रयोग गरेका छन्।
त्यस्तै १९ प्रतिशत उत्तरदाताले बस्ने ठाउँका साथै हवाईजहाज र रेलको टिकट खोज्न एआईको प्रयोग गरेका छन्। यी तथ्यांक १६ वर्षभन्दा माथिका करिब १ हजार मानिसमा गरिएको प्रतिनिधिमूलक सर्वेक्षणमा आधारित छन्।
टेलिग्राफका अनुसार सर्वेक्षणमा ६ प्रतिशत उत्तरदाताले यात्रामा आफूसँग लैजानुपर्ने सामानको सूची बनाउन एआई प्रयोग गरेको बताएका छन्। त्यस्तै ५ प्रतिशतले यात्रा गन्तव्य वा त्यहाँको सांस्कृतिक विशेषताबारे जानकारी र सुझाव लिन एआईको प्रयोग गरेका छन्।
करिब १७ प्रतिशतले बिदाको गन्तव्यमा पुगेपछि घुम्ने स्थान र विभिन्न गतिविधिबारे जानकारी लिन एआई प्रयोग गरेका छन् भने २१ प्रतिशतले रेस्टुरेन्टको सुझाव लिन एआईको प्रयोग गरेका छन्।
२५ प्रतिशत उत्तरदाताले आफ्नो बिदाका तस्बिर सुधार गर्न एआई कार्यक्रम प्रयोग गरेको बताएका छन्।
दैनिक जीवन व्यस्त हुने र बिदाको योजना बनाउन पर्याप्त समय नहुने भएकाले जर्मनीका धेरै मानिस समय बचाउन तथा सुझाव र सल्लाह लिन एआईतर्फ आकर्षित भइरहेका छन्।
प्रकाशित: २६ श्रावण २०८३, मंगलवार