क्लाउडफ्लेयरले सार्वजनिक गर्यो एआई एजेन्टका लागि बनाएको ब्राउजर ‘काइटसर्फ’

  • Technology Khabar | २५ श्रावण २०८३, सोमबार
क्लाउडफ्लेयरले सार्वजनिक गर्यो एआई एजेन्टका लागि बनाएको ब्राउजर ‘काइटसर्फ’

काठमाडौं ।

क्लाउडफ्लेयरले नयाँ वेब ब्राउजर निर्माण गर्ने दौडमा प्रवेश गरेको छ। तर उपभोक्ताका लागि क्रोमको विकल्पका रूपमा नभई इन्टरनेट पूर्वाधार प्रदायक क्लाउडफ्लेयरले एआई एजेन्टका लागि विशेष रूपमा डिजाइन गरिएको क्लाउडमा होस्ट हुने ब्राउजर ‘काइटसर्फ’ सार्वजनिक गरेको हो।

एआई सफ्टवेयर प्रश्नको जवाफ दिने च्याटबोटबाट प्रयोगकर्ताको तर्फबाट विभिन्न काम पूरा गर्न सक्ने एजेन्टतर्फ विकास भइरहेको छ। यस परिवर्तनमा ब्राउजर महत्वपूर्ण हुनेछन्, किनकि एआई एजेन्टले मानिसले जस्तै वेबमा नेभिगेट गर्न र वेबसाइट प्रयोग गर्नुपर्नेछ।

मानिसका लागि बनाइएका परम्परागत वेब ब्राउजरको विपरीत एआई एजेन्टका लागि बनाइएको ब्राउजरमा थिम, ट्याब वा ब्राउजर एक्सटेन्सनजस्ता दृश्य पक्ष त्यति महत्वपूर्ण नहुने क्लाउडफ्लेयरले जनाएको छ।

टेकक्रञ्चका अनुसार एआई एजेन्टका लागि डिजाइन गरिएको ब्राउजरले कन्टेक्स्ट विन्डो, कार्यसम्पादन, टोकनको लागत र विस्तारयोग्यतासहितका विषय व्यवस्थापन गर्नुपर्ने कम्पनीले जनाएको छ। एआई ब्राउजरमा प्रम्प्ट इन्जेक्सन आक्रमणजस्ता जोखिम हुन सक्ने भएकाले यसको सुरक्षा चुनौती पनि परम्परागत ब्राउजरभन्दा फरक हुने कम्पनीको भनाइ छ।

काइटसर्फमार्फत एआई विकासकर्ताले आफ्नै ब्राउजर सफ्टवेयर निर्माण नगरी वेबसाइटमा नेभिगेट गर्ने, फारम भर्ने तथा ब्राउजरमा आधारित अन्य काम पूरा गर्ने सफ्टवेयर बनाउन सक्नेछन्।

क्लाउडफ्लेयरका अनुसार उसले काइटसर्फ निर्माण गर्ने निर्णय १२ साताअघि मात्र गरेको थियो। यो कम्पनीको ‘वर्कर्स’ नामक सर्भरलेस प्लेटफर्ममा पूर्ण रूपमा सञ्चालन हुन्छ। काइटसर्फ अहिले बिटा चरणमा निःशुल्क उपलब्ध छ। यो क्लाउडफ्लेयरको नेटवर्कमा हेडलेस ब्राउजर इन्स्ट्यान्सलाई प्रोग्राममार्फत नियन्त्रण र प्रयोग गर्न दिने ‘ब्राउजर रन’ सेवामा उपलब्ध छ।

विकासकर्ताका लागि क्लाउडफ्लेयरको दाबी काइटसर्फले क्रोमियमको तुलनामा कम कम्प्युटिङ स्रोत प्रयोग गर्दै एआई एजेन्टलाई वेब अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउने भन्ने हो। यसले कम्प्युटिङ लागत घटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार स्क्रिनसट र एचटीएमएल एक्स्ट्र्याक्सनजस्ता सामान्य एआई एजेन्टसम्बन्धी काममा काइटसर्फले क्रोमियमको तुलनामा सीपीयू र मेमोरी निकै कम प्रयोग गर्छ।

काइटसर्फ निर्माणमा विभिन्न प्रविधिको प्रयोग गरिएको छ। यसमा ब्लिट्जको मोड्युलर रेन्डरिङ इन्जिन, फायरफक्सको सीएसएस पार्सर ‘स्टाइलो’ र रस्टमा आधारित ‘बोआ जेएस’ ईसीएमास्क्रिप्ट इन्जिन रहेका छन्। बाँकी सबै काम क्लाउडफ्लेयर वर्कर्सभित्र सञ्चालन हुन्छ।

क्लाउडफ्लेयरका अनुसार नयाँ भए पनि काइटसर्फले हालसम्म २ लाख १५ हजारभन्दा बढी वेब प्लेटफर्म टेस्ट पास गरिसकेको छ। कम्पनीले हरेक साता थप सयौं परीक्षण थप्दै सफलतापूर्वक पास गरिरहेको जनाएको छ।

कम्पनीले ओपन सोर्स रस्ट हेडलेस इन्जिन ‘अब्स्क्युरा’बाट पनि काइटसर्फ विकास गर्ने प्रेरणा पाएको बताएको छ। काइटसर्फको पहिलो प्रुफ अफ कन्सेप्ट अब्स्क्युरालाई वर्कर्समा पोर्ट गरेर तयार गरिएको थियो।

क्लाउडफ्लेयरका अनुसार काइटसर्फले जाभास्क्रिप्ट फ्रेमवर्क तुलना गर्न प्रयोग हुने लोकप्रिय बेन्चमार्क एप्लिकेसन टुडोएमभीसी, विकिपेडिया, ह्याकर न्युज, क्लाउडफ्लेयर ब्लग तथा क्लाउडफ्लेयर ड्यासबोर्डका धेरैजसो भागलाई सही रूपमा रेन्डर गर्न सक्छ।

प्रकाशित: २५ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार