कोइकाको ‘के-कनेक्ट’ पहलद्वारा नेपालमा उद्यमशीलताको इकोसिस्टम सशक्त बन्दै

  • Technology Khabar | २३ श्रावण २०८३, शनिबार
कोइकाको ‘के-कनेक्ट’ पहलद्वारा नेपालमा उद्यमशीलताको इकोसिस्टम सशक्त बन्दै

काठमाडौं ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले नेपालमा उद्यमीहरू, वित्तीय संस्थाहरू, लगानीकर्ताहरू र विकास साझेदारहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित काठमाडौंमा ‘के–कनेक्टः नेपालमा उद्यमशीलताको इकोसिस्टमको प्रवर्द्धन’ नामक पहल आयोजना गरेको छ।

कार्यक्रमको मुख्य उद्देश्य ज्ञान, सञ्जाल र वित्तमा पहुँच अभिवृद्धि गर्नुका साथै नवीनता, साझा सिकाइ, दिगो व्यापार वृद्धि र रोजगारी सिर्जनाका लागि एक विशेष मञ्च प्रदान गर्नु रहेको थियो।

के–कनेक्टमा प्रतिनिधित्व गरिएका कोइकाद्वारा समर्थित तीनवटा परियोजनाहरूले नेपालभर ठोस नतिजाहरू हासिल गरिसकेका छन्। ‘के–हामी’ अन्तर्गत १५ हजार भन्दा बढी कोरियाबाट फर्केका आप्रवासी कामदारहरूले प्राविधिक, पुनर्मिलन र वित्तीय साक्षरता तालीम प्राप्त गरेका छन् भने १९५ जनाले विशेष उद्यमशीलता तालीम पूरा गरेका छन्।

कोरियाबाट फर्केका आप्रवासीहरूका लागि ऋणको पहुँचमा ब्याज अनुदान प्रदान गर्न कोइकाले २५ लाख अमेरिकी डलर उपलब्ध गराएको छ। यस कार्यक्रमबाट करिब ३०० जना कोरियाबाट फर्केका आप्रवासीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

जलवायुमैत्री कृषि परियोजनाले तराईको बाढी प्रभावित क्षेत्रमा १०९ वटा जलवायुमैत्री कृषि व्यवसायहरू स्थापना, ५,३०० भन्दा बढी लाभग्राहीहरूलाई उद्यमशीलता अनुदान र तालिम प्रदान र ३४३ वटा हरित रोजगारी सिर्जना गरेको छ। यस परियोजना अन्तर्गत कोइकाले तराई एग्रि बिजनेस एण्ड इन्टरप्राइज च्यालेञ्ज फन्डका लागि १५ लाख अमेरिकी डलर सहयोग विस्तार गरेको छ।

पोखरामा रिसाइकल र अपसाइकल मार्फत हरित रोजगारी सिर्जना परियोजनाले ११५ वटा रिसाइकल र अपसाइकल उद्यमहरू विकास, फोहोर व्यवस्थापनमा करिब ११ हजार परिवारलाई तालीम र १,३०० भन्दा बढी व्यक्तिहरूलाई उद्यमशीलता तालीम प्रदान गरेको छ।

यी सबै उपलब्धिहरूले एउटा आधार तयार पारेका छन् जसको सहायताले के–कनेक्टले नेपालका लागि एक एकीकृत उद्यमशीलता इकोसिस्टम निर्माण गर्ने प्रयास गरेको छ।

नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत पार्क ते–याङले कोइकालाई यस्तो अर्थपूर्ण कार्यक्रम आयोजना गरेकोमा बधाई दिँदै कोरियाको दिगो विकास मुख्यतया मानिसहरूमा लगानी गरेर, संस्थाहरूलाई सुदृढ पारेर, र नवीनता, उद्यमशीलता तथा निजी क्षेत्रको वृद्धिका लागि अवसरहरू सिर्जना गरेर हासिल गरिएको बताएका छन्।

कोइकाका कन्ट्री डाइरेक्टर मुहून कोङले नेपालमा उद्यमशीलताको विकासलाई समर्थन गर्न कोइकाको दीर्घकालीन प्रतिबद्धताको पुनःपुष्टि गरेका छन्। उनले विगत वर्षहरूमा कोइकाले विभिन्न परियोजनाहरू मार्फत उद्यमशीलता, वित्तमा पहुँच र सीप विकासलाई समर्थन गर्दै आएको बताए।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नवराज ढकाल र युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेम राज तामाङले के–कनेक्टको अवधारणा ल्याएकोमा कोइकालाई बधाई दिएका छन्।

उनीहरूले नेपालमा रोजगारी सिर्जना, सीप र उद्यम विकासको महत्त्वमाथि थप जोड दिएका छन्। उनीहरूले कोइकामार्फत गणतन्त्र कोरिया सरकारद्वारा नेपालमा प्रदान गरिएको अर्थपूर्ण विकास सहयोगको प्रशंसा गरे।

कार्यक्रममा कोइकाकी उपनिर्देशक सुजिन येओले के–कनेक्ट भनेको उद्यमीहरू, वित्तीय संस्थाहरू, लगानीकर्ताहरू, परामर्शदाताहरू, सरकारी साझेदारहरू र विकास संस्थाहरूलाई एक बढ्दो उद्यमशीलता इकोसिस्टममा जोड्ने बताइन्।

कार्यक्रममा लाभग्राहीहरूको सफलताका कथाहरू, बैंक तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँगको व्यापारिक पिचिंग सत्र, र उद्यमीहरूलाई सम्भावित लगानीकर्ताहरू र व्यापारिक परामर्शदाताहरूसँग जोड्ने प्रत्यक्ष परामर्श सत्रहरू (वान–अन–वान) समावेश गरिएका थिए।

यी सत्रहरूले सहभागीहरूलाई व्यावहारिक प्रतिक्रिया प्राप्त गर्न उनीहरूको व्यापारिक रणनीतिहरूलाई बलियो बनाउन, र भविष्यको लगानी तथा सहकार्यतर्फ डोऱ्याउन सक्ने सञ्जालहरू स्थापित गर्न सक्षम बनाएका छन्।

सन् १९९१ देखि गणतन्त्र कोरिया सरकारले कोइकामार्फत स्वास्थ्य, शिक्षा, कृषि, व्यावसायिक तालीम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनजस्ता विभिन्न क्षेत्रहरूलाई सहयोग गर्दै नेपालको एक प्रमुख विकास साझेदारको रूपमा काम गर्दै आएको छ। कोइकाले हालसम्म नेपाललाई २३ करोड ५० लाख अमेरिकी डलर सहायता प्रदान गरिसकेको छ।

प्रकाशित: २३ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...