काठमाडौं ।
एप्पलले आफ्नो नयाँ संस्करणको ‘सिरी’ धेरै प्रयोग गर्ने प्रयोगकर्ताले भविष्यमा शुल्क तिर्नुपर्ने सङ्केत गरेको छ। एप्पलले आफ्नो नयाँ एआई सञ्चालित भ्वाइस असिस्टेन्ट ‘सिरी’ प्रयोग गर्न शुल्क लिने कुरा पहिलो पटक औपचारिक रूपमा पुष्टि गरेको हो।
गत बिहीबार एप्पलको पछिल्लो त्रैमासिक वित्तीय नतिजाबारे जानकारी दिन आयोजित सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले सुधारिएको एआई सञ्चालित सिरी सञ्चालन गर्दा बढ्ने कम्प्युटिङ लागत कसरी व्यवस्थापन गर्ने भन्ने योजना कम्पनीले अझै तयार गरिरहेको बताएका छन्।
पछिल्लो त्रैमासिक वित्तीय नतिजाबारे छलफलका क्रममा टिम कुकले भने, ‘हामीलाई विश्वास छ कि केही प्रयोगकर्ताले नयाँ सिरीको धेरै प्रयोग गर्न चाहनेछन्। त्यसैले उनीहरूका लागि आईक्लाउड प्लस अन्तर्गत कुनै न कुनै स्तरको अपग्रेड विकल्प उपलब्ध गराउनेछौं।’
टिम कुकका अनुसार नयाँ सिरीबारे आएका प्रारम्भिक सकारात्मक प्रतिक्रियाले गोपनीयतालाई प्राथमिकता दिने र प्रयोगकर्ताको व्यक्तिगत सन्दर्भमा आधारित एआई विकास गर्ने एप्पलको दृष्टिकोण सही रहेको पुष्टि गरेको छ।
ब्लुमबर्ग लगायतका सञ्चारमाध्यमहरूले नयाँ आइफोन अपरेटिङ सिस्टमका केही सुविधाहरू प्रयोग गर्न आईक्लाउड प्लसको सशुल्क सदस्यता आवश्यक पर्ने अनुमान गरेका छन्। साथै, नयाँ सिरी सञ्चालनका लागि एप्पलले केही हदसम्म गुगलको जेमिनाई एआई मोडेलको पनि प्रयोग गरिरहेको छ ।
प्रकाशित: २३ श्रावण २०८३, शनिबार