फाइभजी सेवा सुरु गर्ने कार्ययोजना पेश गर्न सेवा प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

  • Technology Khabar | २२ श्रावण २०८३, शुक्रबार
फाइभजी सेवा सुरु गर्ने कार्ययोजना पेश गर्न सेवा प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ।

साथै देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ।

प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम नेपाल टेलिकम र एनसेलसहितका मोबाइल सेवा प्रदायकहरूलाई सेवा गुणस्तर, नियामकीय अनुपालन, उपभोक्ता हित संरक्षण तथा नयाँ प्रविधिको विस्तारका विषयमा आवश्यक निर्देशन दिइएको हो।

प्राधिकरणले प्रमुख शहरी क्षेत्रबाट फाइभजी सेवा सुरु गर्ने लक्ष्यसहित चरणबद्ध कार्ययोजना तयार गरी प्राधिकरणमा पेश गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। साथै देशभर ४जी सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्न पनि जोड दिइएको छ।

यसले नेपालमा उच्च गतिको मोबाइल इन्टरनेट सेवा विस्तार तथा नयाँ पुस्ताको दूरसञ्चार प्रविधि कार्यान्वयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले रेडियो फ्रिक्वेन्सी जस्तो सीमित राष्ट्रिय स्रोतको अधिकतम उपयोग गर्न पनि जोड दिएको छ। वितरण गरिएको फ्रिक्वेन्सीको प्रभावकारी प्रयोग गर्नुपर्ने तथा दूरसञ्चार पूर्वाधारको साझा प्रयोगमार्फत दोहोरो लगानी घटाएर लागत कम गर्न र सेवा विस्तारलाई सहज बनाउन निर्देशन दिइएको छ।

प्राधिकरणका अनुसार यी निर्देशनको प्रभावकारी कार्यान्वयनबाट मोबाइल सेवाको गुणस्तर सुधार, ४जी तथा आगामी ५जी सेवाको विस्तार, उपभोक्ता अधिकार संरक्षण र दूरसञ्चार क्षेत्रमा नयाँ प्रविधिको प्रयोगले गति लिने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार