काठमाडौं ।
राष्ट्रिय सूचना आयोगले सूचना आयुक्त पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
आयोगको पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले आज एक सूचना प्रकाशन गर्दै एक प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्त (तीमध्ये कम्तीमा एक जना महिला रहने गरी) नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिलगायत आवश्यक कागजातसहित २०८३ साउन २८ गतेभित्र राष्ट्रिय सूचना आयोग, तिपुरेश्वरस्थित पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयमा वा [email protected] इमेलमार्फत आवेदन पेश गर्न सक्नेछन्।
समितिले सम्बन्धित पदका योग्यता, मापदण्ड तथा अन्य विस्तृत जानकारी राष्ट्रिय सूचना आयोगको वेबसाइट www.nic.gov.np मा उपलब्ध रहेको जनाएको छ।
प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार