सामाजिक सञ्जालमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ गर्न महासंघको माग

  • Technology Khabar | १९ श्रावण २०८३, मंगलवार

काठमाडौं ।

नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्र र क्रियाशील पत्रकारहरूलाई बदनाम गराउने तथा ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको भन्दै झापाको हल्दिबारी गाउँपालिका–१ का नवराज ओली (नितेश) लाई पक्राउ गर्न माग गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो माग गरेको हो।

विभिन्न अपराधमा संलग्न भई हाल फरार रहेका ओलीले सामाजिक सञ्जाल र सन्देशहरूमार्फत भ्रामक सामग्री प्रसारण गरिरहेको विज्ञप्तिमा उल्लेख छ। उनले महासंघको झापा शाखा, शाखा अध्यक्ष तथा अन्य पदाधिकारीहरूविरुद्ध अनर्गल प्रचारप्रसार गर्दै मानमर्दन र चरित्रहत्या गर्नुका साथै ज्यान लिने धम्की दिइरहेको महासंघको कोशी प्रदेश समितिले जनाएको।

महासंघले यस्ता गतिविधिलाई अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य ठहर गरेको छ।

महासंघको झापा शाखाले गत असार १५ गते ओलीविरुद्ध साइबर अपराधको कसुरमा जिल्ला प्रहरी कार्यालय, झापामा संस्थागत रूपमा जाहेरी दिएको थियो। जाहेरीपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको एक महिना बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ नगरेकोमा महासंघले आश्चर्य र आशंका व्यक्त गरेको छ।

आरोपी व्यक्ति सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहँदा पनि पक्राउ प्रक्रियामा भइरहेको ढिलाइले प्रहरी प्रशासनको भूमिकाप्रति प्रश्न उठेको महासंघले उल्लेख गरेको छ।

महासंघले कुनै पनि बहाना नगरी अभियुक्त ओलीलाई तत्काल पक्राउ गर्न, निजको सामाजिक सञ्जालमार्फत भइरहेका अवाञ्छित गतिविधि रोक्न र दण्डहीनताको अन्त्य गर्न माग गरेको छ।

प्रकाशित: १९ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार