काठमाडौं ।
चीनको अलिबाबाले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो र सक्षम कृत्रिम बुद्धिमत्ता (एआई) मोडल क्वेन३.८-म्याक्स सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडल आकारका हिसाबले गत महिना चिनियाँ कम्पनी मुनशट एआईले सार्वजनिक गरेको किमि के३भन्दा धेरै पछाडि छैन।
विश्वभर ओपन-वेट एआई मोडल विकासमा अग्रणी मानिने चिनियाँ प्रविधि कम्पनीहरू अहिले उच्च क्षमताका एआई प्रणाली विकास गर्ने होडमा छन्। उनीहरूले मोडललाई शक्तिशाली बनाउँदै सञ्चालन खर्च पनि कम राख्ने प्रयास गरिरहेका छन्।
क्वेन३.८-म्याक्स मा २.४ ट्रिलियन प्यारामिटर छन्। प्यारामिटर भनेको एआईले डाटाबाट सिक्ने संख्यात्मक मान हो, जसको आधारमा उसले ढाँचा पहिचान गर्ने, उत्तर तयार गर्ने र विभिन्न कार्य गर्ने क्षमता विकास गर्छ। मुनशट एआईको किमि के३मा २.८ ट्रिलियन प्यारामिटर छन्।
रोयटर्सका अनुसार धेरै प्यारामिटर हुनु मात्रै मोडल उत्कृष्ट हुने ग्यारेन्टी भने होइन। तर उन्नत एआई प्रणालीको क्षमता र त्यसको पछाडि रहेको कम्प्युटिङ शक्ति तथा डाटाको मापनका रूपमा प्यारामिटर संख्या महत्त्वपूर्ण सूचक मानिन्छ।
चिनियाँ कम्पनीहरूले आफ्ना मोडलको प्यारामिटर संख्या सार्वजनिक गरेर विकासकर्ता समुदायमा लोकप्रिय बनाउन खोजिरहेका छन्। तीमध्ये अधिकांश मोडल ओपन-वेट छन्, जसका कारण विकासकर्ताले मोडलका सिकाइसम्बन्धी सेटिङ डाउनलोड गरेर आफ्नै आवश्यकता अनुसार प्रयोग वा परिमार्जन गर्न सक्छन्। यसको विपरीत, ओपनएआई, एन्थ्रोपिक र गुगलले आफ्ना क्लोज्ड-सोर्स एआई मोडलको प्यारामिटर संख्या सार्वजनिक गर्दैनन्।
क्राउडसोर्स्ड मोडल तुलना प्लेटफर्म एरिना डट एआईमा सार्वजनिक भएको क्वेन३.८-म्याक्स तत्कालै टेक्स्ट मोडलतर्फ सबैभन्दा उच्च स्थानमा पुगेको चिनियाँ मोडल बनेको छ। यद्यपि समग्र र्याङ्किङमा भने एन्थ्रोपिकका क्लोड फेबल ५ र ओपसका तीन संस्करणभन्दा पछाडि रहेको छ।
तस्बिर तथा अन्य दृश्य सामग्री विश्लेषण गर्ने एआई मोडलहरूको र्याङ्किङमा भने क्वेन३.८-म्याक्स विश्वमै दोस्रो स्थानमा पुगेको छ। यस सूचीमा पनि पहिलो स्थान क्लोड फेबल ५ को एक संस्करणले ओगटेको छ।
क्वेन३.८-म्याक्स र किमि के३ दुवैले टेक्स्ट, तस्बिर र भिडियो प्रशोधन गर्न सक्छन्। साथै, दुवैले एकैपटक १० लाख टोकनसम्म प्रशोधन गर्न सक्ने क्षमता राख्छन्। टोकन भनेको शब्द वा शब्दका अंशजस्ता डाटाका साना इकाइ हुन्। धेरै टोकन प्रशोधन गर्न सक्ने मोडलले लामो कानुनी कागजात, ठूलो सफ्टवेयर कोड वा सयौं पृष्ठका दस्तावेज एकैपटक विश्लेषण गर्न सक्छ।
अलिबाबाका अनुसार क्वेन३.८-म्याक्स ले ‘मिश्रण-अफ-एक्सपर्ट्स’संरचना प्रयोग गर्छ। यसमा सबै प्यारामिटर एकैपटक सक्रिय नगरी आवश्यक कामका लागि विशेष भागहरू मात्र प्रयोग गरिन्छ।
२.४ ट्रिलियन प्यारामिटरमध्ये एकपटकमा ९५ अर्ब प्यारामिटर मात्र सक्रिय हुने भएकाले सञ्चालन खर्च र प्रतिक्रिया समय दुवै कम हुने कम्पनीको दावी छ।
कम्पनीका अनुसार यस मोडलले एउटा सफ्टवेयर इन्जिनियरिङ परियोजना १६ दिनमै पूरा गरेको थियो।
अलिबाबाले क्वेन३.८-म्याक्स लाई आगामी साता आफ्नो अलिबाबा क्लाउड मोडल स्टुडियो प्लेटफर्ममार्फत सार्वजनिक गर्ने जनाएको छ।
प्रकाशित: १९ श्रावण २०८३, मंगलवार