नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ विश्व बजार लक्षित गर्दै प्रदर्शनमा आउने

  • Technology Khabar | १७ श्रावण २०८३, आईतवार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ विश्व बजार लक्षित गर्दै प्रदर्शनमा आउने

काठमाडौं ।

हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसी–एडभेन्चर चलचित्र ‘लस्ट इन मण्डला’ नेपालबाट विश्व बजारमा पुग्ने भएको छ।

विश्वव्यापी दर्शकलाई लक्षित गरी निर्माण भइरहेको यो चलचित्रलाई नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा प्रस्तुत गरिएको छ।

नेपालको मौलिक सांस्कृतिक परिवेशमा आधारित चलचित्रले मित्रता, करुणा, साहस र आत्मखोजीजस्ता विश्वव्यापी विषयलाई समेटेको छ। नेपाली कथा, मिथक तथा आध्यात्मिक परम्परालाई आधुनिक एनिमेसन र अन्तर्राष्ट्रिय चलचित्र निर्माणको अनुभवसँग जोड्दै चलचित्र तयार भइरहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रको कथा १२ वर्षीया एक बालिका र उनका साथीहरू रहस्यमय अर्को आयाममा पुगेपछि सुरु हुन्छ। उक्त अपरिचित संसारमा उनीहरूले भयावह अँध्यारो शक्तिको सामना गर्नुपर्छ। विभिन्न चुनौती पार गर्ने क्रममा उनीहरूले प्रेम, मित्रता र करुणाको वास्तविक शक्ति पत्ता लगाउँछन् र आफ्नो संसारलाई बचाउने साहसिक यात्रामा अघि बढ्छन्।

नेपालको समृद्ध सांस्कृतिक तथा आध्यात्मिक परम्पराबाट प्रेरित चलचित्रले फरक उमेर समूह तथा विभिन्न भूगोलका दर्शकसँग भावनात्मक रूपमा जोडिन सक्ने काल्पनिक संसार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

नेपालका अग्रणी चलचित्र वितरकमध्ये एक एप्पल इन्टरटेनमेन्ट प्रा.लि. चलचित्रको नेपाल तथा छनोट गरिएका केही अन्तर्राष्ट्रिय बजारका लागि आधिकारिक वितरण साझेदार बनेको छ। कम्पनीको वितरण सञ्जालमार्फत चलचित्र नेपालसहित तोकिएका अन्तर्राष्ट्रिय बजारका सिनेमा हलमा प्रदर्शन गरिनेछ।

चलचित्रले नेपालको एनिमेसन तथा चलचित्र उद्योगमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। नेपाली कथा, मिथक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय दर्शक लक्षित फिचर चलचित्रका रूपमा प्रस्तुत गर्न सकिने सम्भावनालाई यस परियोजनाले थप उजागर गरेको छ।

चलचित्रमा नेपाल र हलिउडको सिर्जनात्मक तथा प्राविधिक अनुभवलाई एकै ठाउँमा ल्याइएको छ। नेपाली सांस्कृतिक परिवेशमा आधारित कथालाई अन्तर्राष्ट्रिय चलचित्र तथा भिजुअल इफेक्ट्स निर्माणको विशेषज्ञतासँग संयोजन गरिएको निर्माण टोलीले जनाएको छ।

‘लस्ट इन मण्डला’का कार्यकारी निर्माता तथा एप्पल इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष एवं क्यूएफएक्स सिनेमाज् र लबिम मलका सह–संस्थापक नाकिम उद्दिनले नेपालबाट प्रेरित कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउन पाउनु गौरवको विषय भएको बताए।

“लस्ट इन मण्डलामार्फत नेपालबाट प्रेरित कथालाई विश्वमाझ पुर्याउन पाउँदा हामी गर्व गर्छौं। यस चलचित्रले नेपाली सिर्जनात्मक क्षेत्रमा विश्वस्तरका कथा निर्माण र प्रस्तुत गर्ने ठूलो सम्भावना रहेको देखाउँछ,” उनले भने।

एप्पल इन्टरटेनमेन्ट प्रा.लि.की प्रबन्ध निर्देशक बिपाश्यना श्रेष्ठले नेपाली सांस्कृतिक परिवेशमा आधारित चलचित्रलाई कम्पनीको वितरण सञ्जालमार्फत फराकिलो दर्शकमाझ पुर्याउन पाउनु उत्साहजनक भएको बताइन्।

“लस्ट इन मण्डला” मार्फत नेपालबाट प्रेरित कथालाई अझ फराकिलो दर्शकमाझ पुर्याउने अवसर पाउनु हाम्रो लागि उत्साहजनक छ। सांस्कृतिक रूपमा नेपाली परिवेशमा आधारित यस चलचित्रलाई हाम्रो वितरण सञ्जालमार्फत सिनेमा हलसम्म पुर्याउन पाउँदा हामी गर्व गर्छौं,” उनले भनिन्।

चलचित्रका निर्माता तथा निर्देशक किरण भक्त जोशी हुन्। उनी इन्सेसन्ट रेन स्टुडियोजका संस्थापक तथा सह–प्रमुख कार्यकारी अधिकृत र वाल्ट डिज्नी स्टुडियोजका पूर्व भिजुअल इफेक्ट्स सुपरभाइजर हुन्।

जोशीले यसअघि द लायन किङ, ब्युटी एन्ड द बिस्ट र द हन्चब्याक अफ नोट्र डाम लगायतका चर्चित चलचित्रमा काम गरिसकेका छन्। ‘लस्ट इन मण्डला’ मार्फत उनले अन्तर्राष्ट्रिय चलचित्र तथा भिजुअल इफेक्ट्स निर्माणमा हासिल गरेको अनुभवलाई नेपालको सांस्कृतिक परिवेशमा आधारित कथासँग जोडेका छन्।

चलचित्रको पटकथा हलिउडका चर्चित पटकथा लेखक ज्याक स्टेन्ट्जले लेखेका हुन्। उनले थोर, एक्स–मेनः फस्र्ट क्लास तथा नेटफ्लिक्सको जुरासिक वल्र्डः क्याम्प क्रेटासियस जस्ता चर्चितमा काम गरिसकेका छन्।

त्यसैगरी उनको संलग्नता रिम अफ द वल्र्ड र एजेन्ट कोडी बैंक्स लगायतका चलचित्र तथा फ्रिन्ज, द फ्ल्यास र टर्मिनेटरः द साराह कोनर क्रोनिकल्स लगायतका टेलिभिजन सिरिजमा पनि रहेको छ।

इन्सेसन्ट रेन स्टुडियोजकी सह–संस्थापक तथा सह–प्रमुख कार्यकारी अधिकृत दिपा चिपालु जोशी चलचित्रकी निर्माता हुन्। उनले येलोस्टोन, ग्याङ्स अफ लन्डन तथा द हङ्गर गेम्सः द ब्यालाड अफ सङबड्र्स एन्ड स्नेक्स लगायतका चलचित्र तथा सिरिजमा कार्यकारी भिजुअल इफेक्ट्स निर्माताका रूपमा काम गरिसकेकी छिन।

चलचित्रको निर्माण व्यवस्थापन तथा अन्तर्राष्ट्रिय साझेदारीमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन्।

‘लस्ट इन मण्डला’ इन्सेसन्ट रेन स्टुडियोज र एनआईएमबी एस क्यापिटलको साझेदारीमा निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय बजारलाई लक्षित यस परियोजनामा सिर्जनात्मक, प्राविधिक, निर्माण तथा वित्तीय क्षेत्रको अनुभवलाई एकीकृत गरिएको छ ।

एप्पल इन्टरटेनमेन्टले नेपालमा लामो समयदेखि अन्तर्राष्ट्रिय चलचित्र वितरण गर्दै आएको छ। कम्पनी डिज्नी, युनिभर्सल पिक्चर्स, सोनी पिक्चर्स, प्यारामाउन्ट पिक्चर्स र वार्नर ब्रदर्सलगायत प्रमुख हलिउड स्टुडियो तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कम्पनीहरूको नेपालका लागि आधिकारिक वितरण साझेदार हो।

‘लस्ट इन मण्डला’को नेपाल तथा छनोट गरिएका अन्तर्राष्ट्रिय बजारको वितरण अधिकार प्राप्त गरेसँगै एप्पल इन्टरटेनमेन्टले चलचित्रलाई आफ्नो सञ्जालमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउनेछ।

विशिष्ट दृश्य प्रस्तुति, हिमालयको पृष्ठभूमि र अन्तर्राष्ट्रिय अनुभवसहितको निर्माण टोलीका कारण ‘लस्ट इन मण्डला’ नेपाली एनिमेसन तथा चलचित्र क्षेत्रको महत्वाकांक्षी परियोजनाका रूपमा अगाडि आएको छ।

नेपाली संस्कृति, मिथक र परम्पराबाट प्रेरित कथालाई अन्तर्राष्ट्रिय चलचित्र निर्माणको अनुभवसँग जोड्दै चलचित्रले संकट र अँध्यारोका बीच करुणा, साहस तथा मानवीय सम्बन्धको शक्तिलाई प्रस्तुत गर्नेछ।

प्रकाशित: १७ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार