काठमाडौं ।
यूरोपेली संघ (ईयू) ले यूरोपभरि सातवटासम्म एआई गिगाफ्याक्ट्री निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। यसको उद्देश्य प्रविधिमा आत्मनिर्भरता बढाउनु र युरोपलाई ‘एआई महादेश’ बनाउने लक्ष्य पूरा गर्नु हो।
यो योजना यूरोपियन हाई परफर्मेन्स कम्प्युटिङ जोइन्ट अन्डरटेकिङ अन्तर्गत सञ्चालन हुनेछ। यसका लागि ईयू र सदस्य राष्ट्रहरूले मिलेर १० अर्ब युरोसम्मको सार्वजनिक लगानी गर्नेछन्। साथै, यसबाट करिब २० अर्ब युरो निजी लगानी आकर्षित हुने अपेक्षा गरिएको छ।
टेलिकम्स डटकमका अनुसार यस योजनाको उद्देश्य युरोपको एआई कम्प्युटिङ क्षमता विस्तार गर्नुका साथै स्टार्टअप, तीव्र रूपमा बढिरहेका कम्पनी, साना तथा मझौला उद्योग, उद्योग क्षेत्र, शैक्षिक संस्था र सरकारी निकायलाई उन्नत एआई मोडेलको प्रशिक्षण, प्रयोग र सुधारका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउनु हो।
एआई गिगाफ्याक्ट्रीमा अत्याधुनिक एआई प्रोसेसर, सफ्टवेयर, क्लाउड प्रविधि, उच्च गतिको नेटवर्क र ऊर्जा-किफायती डाटा सेन्टर रहनेछन्। यसको लक्ष्य युरोपले आफ्नै पूर्वाधारमा ईयूका नियम र मूल्यअनुसार उन्नत एआई विकास गर्न सक्ने बनाउनु हो।
कम्पनी, सरकारी निकाय र लगानीकर्ताले संयुक्त समूह (कन्सोर्टियम) वा विशेष उद्देश्यका कम्पनीमार्फत आवेदन दिन सक्नेछन्। गिगाफ्याक्ट्री एउटै देशमा एक वा धेरै स्थानमा स्थापना गर्न सकिनेछ। आवश्यक परे विभिन्न देशमा फैलिएका एआई कम्प्युटिङ केन्द्रमार्फत सीमापार परियोजना पनि सञ्चालन गर्न सकिनेछ।
गिगाफ्याक्ट्री सञ्चालनमा आएपछि सदस्य राष्ट्रहरूले संयुक्त रूपमा कम्प्युटिङ क्षमता खरिद गर्न सक्नेछन्। हालसम्म क्रोएसिया, चेकिया, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आयरल्यान्ड, इटाली, लाट्भिया, लिथुआनिया, पोल्यान्ड, पोर्चुगल, स्लोभाकिया, स्पेन र स्विडेन गरी १८ देशले संयुक्त खरिद सम्झौतामा हस्ताक्षर गरिसकेका छन्।
परियोजना दुई चरणमा अघि बढाइनेछ। सहभागी सदस्य राष्ट्रहरूले ईयूले उपलब्ध गराउने रकम बराबरको लगानी गर्नुपर्नेछ। ईयूका अनुसार सार्वजनिक लगानीले निजी क्षेत्रबाट आवश्यक ठूलो लगानी आकर्षित गर्न सहयोग गर्नेछ।
पहिलो चरणमा चारवटासम्म परियोजनाले सहयोग पाउनेछन्। प्रत्येक परियोजनाले पहिलो चरणमा १० करोड यूरोसम्म र दोस्रो चरणमा थप ४० करोड युरोसम्म अनुदान पाउन सक्नेछन्।
प्रत्येक गिगाफ्याक्ट्रीमा हाल युरोपको सबैभन्दा शक्तिशाली एआई केन्द्रमा रहेका जति अत्याधुनिक एआई प्रोसेसर हुनुपर्नेछ। दोस्रो चरणमा त्यो क्षमता कम्तीमा तीन गुणाले बढाउनुपर्ने व्यवस्था गरिएको छ।
दोस्रो समूहअन्तर्गत तीनवटासम्म परियोजनाले सहयोग पाउनेछन्। प्रत्येकले पहिलो चरणमा २० करोड युरोसम्म र दोस्रो चरणमा थप ८० करोड युरोसम्म ईयूबाट अनुदान प्राप्त गर्न सक्ने टेलिकम्स डटकमले जनाएको छ।
ईयूका अनुसार उन्नत एआईका लागि विशेष प्रकारको कम्प्युटिङ हार्डवेयर आवश्यक पर्छ। विश्वभर एआईको प्रयोग बढ्दै जाँदा युरोपको औद्योगिक प्रतिस्पर्धा र प्रविधिगत आत्मनिर्भरताका लागि आफ्नै ठूलो एआई पूर्वाधार झन् महत्वपूर्ण बन्दै गएको छ।
गिगाफ्याक्ट्री निर्माण गर्ने समूहले यूरोप वा समान सोच भएका देशका हार्डवेयर कम्पनीबाट आवश्यक उपकरण खरिद गर्न सक्नेछन्। खरिदको केही हिस्सा युरोपका स्टार्टअप र तीव्र रूपमा बढिरहेका कम्पनीका लागि छुट्याइनेछ, जसले युरोपको डिजिटल आपूर्ति शृंखला बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
साथै, ईयू–अमेरिका व्यापार सम्झौतापछि युरोपेली आयोगले एएमडी, एनभिडिया र क्वालकमसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ, जसले आवश्यक हार्डवेयर सहज रूपमा उपलब्ध गराउन मद्दत गर्ने जनाएको छ।
इच्छुक पक्षले १२ नोभेम्बरसम्म आवेदन दिन सक्नेछन्। परियोजना छनोटको निर्णय आगामी वर्षको सुरुतिर हुने अपेक्षा गरिएको छ। त्यसपछि निर्माण कार्य सुरु गरिनेछ र सम्झौतामा हस्ताक्षर भएको १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
गत वर्ष यस्ता गिगाफ्याक्ट्री निर्माणका लागि ईयूका परियोजनामा ७६ वटा प्रस्ताव परेका थिए। यसअघि ईयूले एआई क्षेत्रमा २०० अर्ब यूरोसम्म लगानी सहज बनाउने योजना पनि सार्वजनिक गरेको थियो।
हाल एआई क्षेत्रमा अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। ईयूले भने यो योजनामार्फत युरोपमा पनि एआई विकासलाई तीव्र बनाउने प्रयास गरेको जनाएको छ। यो योजना कति सफल हुन्छ भन्ने भने आगामी समयमा स्पष्ट हुनेछ।
प्रकाशित: १६ श्रावण २०८३, शनिबार