काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकको मुख्य कम्पनी मेटा इंकले नेपालमा डाटा वर्ल्ड लिमिटेडसँग सहकार्य गर्ने घोषणा गरेको छ।
काठमाडौंमा जारी ४४ औं दक्षिण एसियाली नेटवर्क अपरेटर समूह (सानोग) सम्मेलनको अवसरमा आयोजित एक प्यानल डिस्कसनमा मेटा इंकको एपाकका लागि एज स्ट्राटेजी प्रमुख म्याट जान्सेनले नेपाली बजारमा आउने घोषणा गरेका हुन्।
उनले उक्त कार्यक्रममा नेपालसहित यस क्षेत्रका अन्य देशहरुमा पनि अवसर खोज्ने भन्दै वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडअन्तरगतको डाटा वर्ल्ड लिमिटेडसँग सहकार्य गर्ने बताएका हुन्।
उनले आफुहरु कन्टेन्ट उत्पादक भएको अवस्थामा सिधै स्थानीय प्रयोगकर्ताहरुसम्म जाने रणनीतिअन्तरगत नेपालमा पनि डाटा सेन्टरसँगको सहकार्य गर्ने आधिकारीक घोषणा गरेका हुन्। कम्पनीले सँधै अन्तिम प्रयोकर्तासम्म जाने र क्यासरहित बनाउने प्रयास गरिरहेको जानकारी उनले दिए।
म्याट जान्सेनले छिमेकी भारतमा ८ वर्षअघि प्रवेश गरेको र अहिले त्यहाँ डाटामा तीव्रता रहेको भन्दै भने, “आधिकारीकरुपमा हामी यस वर्ष काठमाडौंमा आउँदैछौं। डाटा वर्ल्डमा हाम्रो ‘पप इन’ यो वर्षसम्म तयार हुने लक्ष्य छ।”
जान्सेनले योजनाअनुसार भएमा यो वर्षभित्रै आउने भन्दै यसले नेपाली प्रयोगकर्ताहरु र कन्टेन्ट क्रिएटरहरुलाई स्पीड र इंगेजमेन्टमा सहयोग पुग्ने बताए।
उनले भने, “अहिले एआईको धेरै प्रभाव देखिएको छ। यसले डाटा सेन्टरमा पनि असर पारेको छ। एआईको प्रभावबाट छिटै सिकेको र यसले गर्दा कयौं सिडिएनहरु फेल हुने अवस्थामा देखिएको छ।”
वर्ल्डलिंकले यसअघि नै आफ्नो डाटा सेन्टरमा मेटाको कुनै लगानी नभएको बताइसकेको छ। तर मेटाले वर्ल्डलिंकको लगानी रहेको र तयार भएको उक्त डाटा सेन्टरसँग सहकार्य गर्ने र अन्तिम प्रयोगकर्ताहरुलाई “सिमलेस” सेवा दिने बताएको हो।
मेटाले सो डाटा सेन्टरमा यसको लागि पप (PoP) तयार पार्नेछ र त्यसले सिधै दूरसञ्चार सेवा प्रदायकहरु कनेक्ट गर्न सक्नेछ।
यसले तिनीहरूको अन्तराष्ट्रिय प्राइभेट ट्राफिकमा लागतको २० प्रतिशतदेखि २५ प्रतिशतसम्म बचत हुने अनुमान छ र यसले मेटाको एप्सको परफर्मेन्समा पनि सुधार गर्ने अपेक्षा गरिएको छ।
वर्ल्डलिंकको लगानीमा काठमाडौँको मातातीर्थमा डाटा वर्ल्ड लिमिटेड अन्तरगत टियर-थ्री लेभलको डाटा सेन्टर संचालनमा रहेको छ।
आफ्नै ‘पप’ तयार पार्नका लागि मेटाले डाटावर्ल्डसँग स्पेस र पावर भाडामा लिने र यसको लागि आफ्नै कम्प्युट र नेटवर्किङ उपकरणहरू ल्याउने बताईएको छ।
गत वर्ष नै आईएफसीले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसँगको साझेदारीमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र यसको सहायक कम्पनी डाटा वर्ल्ड लिमिटेडलाई २९ मिलियन अमेरिकी डलरको प्रतिबद्धता जनाएको थियो।
मेटाको फेसबुकमा मात्रै कुल जनसंख्याको करिब ५७ प्रतिशत नेपालीहरु सक्रिय रहेको देखिन्छ। यस बाहेक मेटाअन्तरगतका इन्टाग्राम, थ्रेड्स, ह्वाट्सएपमा पनि सक्रिय नेपाली प्रयोगकर्ताहरुको संख्या बढ्दो छ।
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार