वार्नर ब्रदर्स डिस्कभरीसँगको मर्जर प्रक्रिया २०२७ सम्म स्थगित गर्न प्यारामाउन्ट स्काइडान्स सहमत

  • Technology Khabar | १२ श्रावण २०८३, मंगलवार
वार्नर ब्रदर्स डिस्कभरीसँगको मर्जर प्रक्रिया २०२७ सम्म स्थगित गर्न प्यारामाउन्ट स्काइडान्स सहमत

काठमाडौं ।

प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरीसँगको आफ्नो मर्जर प्रक्रिया २०२७ को जुनसम्म स्थगित गर्न सहमति जनाएको छ। यो निर्णय १२ अमेरिकी राज्यले सम्झौता रोक्न दायर गरेको संयुक्त मुद्दामाथि अदालतले विचार गरिरहेका बेला गरिएको हो।

द न्यूयोर्क टाइम्सका अनुसार यो नयाँ सहमतिले जुलाई २० मा न्यायाधीश अरासेली मार्टिनेज–ओलगुइनले दिएको दुई साताको स्थगनलाई थप लम्ब्याएको हो। तर यो व्यवस्था न्यायाधीशले अनुमोदन गरेपछि मात्र औपचारिक रूपमा लागू हुनेछ।

सहमतिअनुसार पारामाउन्टले २०२७ जुन १ सम्म, वा अदालतले वार्नर ब्रदर्सको अधिग्रहणले प्रतिस्पर्धा विरोधी कानुन उल्लंघन गर्छ वा गर्दैन भन्ने निर्णय गरेको पाँच दिनपछि सम्म, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दुवै कम्पनीको सञ्चालन एकीकृत वा समायोजन गर्ने कुनै कदम नचाल्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

यससँगै अगस्ट ३ का लागि तय गरिएको सुनुवाइ पनि रद्द गरिएको छ। १२ राज्य र राइटर्स गिल्ड अफ अमेरिकाका दुवै शाखाले यसअघि दायर गरेका अस्थायी रोक आदेशका माग फिर्ता लिएका छन्।

अब यी तीनै पक्षले जुलाई ३१ सम्म आफ्ना छुट्टाछुट्टै मुद्दाका लागि नयाँ सुनुवाइ तालिका प्रस्ताव गर्नुपर्नेछ। राइटर्स गिल्ड अफ अमेरिकाले जुलाई १४ मा छुट्टै मुद्दा दायर गरेको थियो।

प्यारामाउन्टले फेब्रुअरीमा नेटफ्लिक्सलाई पछि पार्दै वार्नर ब्रदर्स डिस्कभरी खरिद गर्ने सम्झौता गरेको थियो। उक्त सम्झौतामा वार्नर ब्रदर्स डिस्कभरीको मूल्य करिब १११ अर्ब अमेरिकी डलर, अर्थात् प्रति सेयर ३१ डलर निर्धारण गरिएको थियो।

हालसम्म मर्जर प्रक्रिया पूरा गर्न कम्पनीले धेरै अवरोध सामना गर्नुपरेको छैन। अमेरिकी न्याय विभागले जुनमा सम्झौता स्वीकृत गरिसकेको छ भने युरोपेली आयोगले पनि युनिभर्सलसँगको यूरोपेली वितरण सम्झौताबाट प्यारामाउन्ट बाहिरिने सर्तसहित यसै साता सशर्त स्वीकृति दिएको थियो।

तर अमेरिकी राज्यहरू र हलिउडको प्रमुख श्रमिक संगठनको विरोध कम्पनीका लागि मुख्य चुनौती बनेको छ। सेप्टेम्बर अन्त्यपछि मर्जर प्रक्रिया ढिलाइ हुँदा प्यारामाउन्टलाई प्रत्येक त्रैमासिकमा प्रति सेयर ०.२५ डलर, अर्थात् प्रतिदिन करिब ७० लाख अमेरिकी डलर बराबरको अतिरिक्त लागत पर्ने कम्पनीले जनाएको छ।

यद्यपि कम्पनीले अदालतमा मुद्दा जानु आफ्नै पक्षमा हुने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार यसबाट यो सम्झौता प्रतिस्पर्धा, उपभोक्ता र सिर्जनाकर्ताका लागि लाभदायक रहेको कुरा छिटो र स्पष्ट रूपमा प्रमाणित गर्न सकिनेछ।

प्रकाशित: १२ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार