पहिलो स्मार्ट ग्लास सार्वजनिक गर्ने तयारीमा रहेको एप्पलालाई गोपनीयताको चिन्ता

  • Technology Khabar | १२ श्रावण २०८३, मंगलवार
पहिलो स्मार्ट ग्लास सार्वजनिक गर्ने तयारीमा रहेको एप्पलालाई गोपनीयताको चिन्ता

काठमाडौं ।

एप्पल आफ्नो पहिलो स्मार्ट ग्लास सार्वजनिक गर्ने तयारी गरिरहँदा उपभोक्ताको गोपनीयतासम्बन्धी चिन्तालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि काम गरिरहेको छ।

ब्लूमबर्गका मार्क गर्मनका अनुसार कम्पनीले स्मार्ट ग्लास सार्वजनिक गर्ने समयतालिका सरेको छ। यसअघि २०२७ को सुरुतिर सार्वजनिक गर्ने योजना भए पनि अब यसलाई जुन २०२७ मा हुने वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा सार्वजनिक गरिने र वर्षको अन्त्यसम्म बजारमा उपलब्ध गराइने लक्ष्य राखिएको छ।

यो ढिलाइले एप्पललाई उत्पादनको विकाससँगै गोपनीयतासम्बन्धी सन्देशलाई पनि थप स्पष्ट बनाउन समय दिने बताइएको छ।

रिपोर्टका अनुसार एप्पलले मेटाको स्मार्ट चस्मासम्बन्धी गोपनीयता विवादलाई ध्यान दिएको छ। मेटाको स्मार्ट चस्मा प्रयोग गरेर अनुमति बिना भिडियो रेकर्ड गरिएको भन्दै यसको आलोचना हुँदै आएको छ।

गोपनीयतालाई आफ्नो बजार रणनीतिको मुख्य आधार बनाउँदै आएको एप्पलका लागि यस्तो विषय अझ संवेदनशील हुन सक्ने बताइएको छ।

एप्पलले उपकरणमै डाटा प्रशोधन (अन-डिभाइस प्रोसेसिङ) जस्ता गोपनीयतामैत्री सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने योजना बनाएको छ। साथै, स्मार्ट चस्मामा अनुहार पहिचान (फेसियल रिकग्निसन) सुविधा नहुने पनि रिपोर्टमा उल्लेख छ।

कम्पनीले ग्राहकले रेकर्ड गरेका भिडियो वा अन्य सामग्रीलाई एआई मोडल प्रशिक्षणका लागि प्रयोग नगर्ने सम्भावना रहेको जनाइएको छ। साथै, ग्राहकका भिडियो सामग्रीको समीक्षा गर्न बाह्य ठेकेदार प्रयोग गर्ने मेटाको अभ्यासलाई पनि एप्पलले नअपनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार