स्पोटीफाईमा अब एआईसँग कुराकानी गरेर गीत खोज्न र बजाउन सकिने

  • Technology Khabar | ११ श्रावण २०८३, सोमबार
स्पोटीफाईमा अब एआईसँग कुराकानी गरेर गीत खोज्न र बजाउन सकिने
फाइल तस्बिर

काठमाडौं ।

स्पोटीफाईले आफ्ना प्रिमियम सदस्यका लागि कृत्रिम बौद्धिकता (एआई) मा आधारित नयाँ च्याट फिचर सार्वजनिक गरेको छ। यस सुविधामार्फत प्रयोगकर्ताले एपसँग प्राकृतिक भाषामा संवाद गर्दै आफूले चाहेको गीत, एल्बम वा कलाकार सहजै खोज्न र बजाउन सक्नेछन्।

हाल यो सुविधा परीक्षण (बिटा) चरणमा रहेको छ। प्रारम्भिक रूपमा अमेरिका, आयरल्यान्ड र स्विडेनका प्रिमियम प्रयोगकर्ताले मात्र यसलाई एन्ड्रोइड र आईओएस उपकरणमा प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताले अंग्रेजी भाषामार्फत यो सेवा उपयोग गर्न पाउनेछन्।

नयाँ एआई च्याट फिचर स्पोटीफाईको होम तथा ‘नाउ प्लेइङ’ स्क्रिनबाट प्रयोग गर्न सकिन्छ। प्रयोगकर्ताले टाइप गरेर वा आवाजमार्फत प्रश्न सोध्न सक्छन्, जसको आधारमा एआईले गीत, कलाकार वा एल्बमसम्बन्धी जानकारी उपलब्ध गराउँछ।

यसले प्रयोगकर्ताको लिसनिङ हिस्ट्रीका आधारमा व्यक्तिगत सुझाव पनि दिन्छ। साथै, कुनै गीत वा एल्बम कहिले सार्वजनिक भएको हो? कलाकारबारे जानकारी, तथा नयाँ संगीत सिफारिसजस्ता विवरण पनि एआईमार्फत प्राप्त गर्न सकिन्छ।

कम्पनीका अनुसार प्रयोगकर्ताले एआईसँग कुराकानी गर्दै गीत प्ले गर्न, प्लेलिस्टमा थप्न, क्युमा राख्न वा मनपर्ने कलाकारलाई फलो गर्नसमेत सक्नेछन्। यसले संगीत खोज्ने र व्यवस्थापन गर्ने प्रक्रिया अझ सहज बनाउने विश्वास गरिएको छ।

स्पोटीफाईले यो फिचर विकास गर्न आफ्नै एआई प्रविधिसँगै अन्य अत्याधुनिक एआई मोडलहरूको पनि प्रयोग गरेको जनाएको छ। यसअघि कम्पनीले एआई डीजे र एआई प्लेलिस्टजस्ता सुविधा सार्वजनिक गरिसकेको छ जसले प्रयोगकर्ताको रुचिअनुसार संगीत अनुभवलाई थप व्यक्तिगत बनाउने प्रयास गर्दै आएको छ।

प्रकाशित: ११ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार