काठमाडौं ।
माइक्रोसफ्टले प्रयोगकर्तालाई एक्सबक्स गेम पास सदस्यता नलिई इन्टरनेटमार्फत केही भिडियो गेम निःशुल्क खेल्न दिने नयाँ सुविधा परीक्षण गरिरहेको छ।
कम्पनीले एक्सबक्स इन्साइडर्स कार्यक्रमका सदस्यहरूसँग परीक्षण सुरु गरेको छ। यसअन्तर्गत उनीहरूले आफ्नो गेम लाइब्रेरीमा रहेका केही भिडियो गेम अतिरिक्त शुल्क नतिरी क्लाउडमार्फत खेल्न सक्नेछन्। यसको सट्टामा खेल सुरु गर्नुअघि केही विज्ञापन हेर्नुपर्नेछ।
माइक्रोसफ्टका अनुसार खेल चलिरहेको बेला विज्ञापन देखाइने छैन, जसले गर्दा खेल्ने क्रममा कुनै अवरोध हुने छैन। तर निःशुल्क संस्करणमा एक पटकमा बढीमा एक घण्टासम्म मात्र खेल्न सकिने सीमा हुनेछ। यो मोडेल जीफोर्स सेवाले अपनाएको प्रणालीसँग मिल्दोजुल्दो छ।
कम्पनीले यो परीक्षण अस्थायी हुने र देखाइने विज्ञापन खेलाडी तथा प्रयोग हुने प्लेटफर्मअनुसार उपयुक्त हुने जनाएको छ।
यो कदम एक्सबक्स माथि आर्थिक प्रदर्शन सुधार गर्ने दबाब बढिरहेका बेला आएको हो। पछिल्ला वर्षहरूमा कम्पनीले एक्सबक्स कन्सोल र गेम पास सदस्यताको मूल्य बढाएको छ। साथै, कम्पनीका अधिकारीहरूले एक्सबक्स विभाग निकै कम नाफामा सञ्चालन भइरहेको स्वीकार गरेका छन्।
टेलिग्राफका अनुसार पुनर्संरचनाअन्तर्गत एक्सबक्सले हजारौँ कर्मचारी कटौती गर्ने तथा आफ्नो रणनीतिमा परिवर्तन गर्दै मुख्य रूपमा लोकप्रिय गेम र प्रमुख फ्रेन्चाइजमा ध्यान केन्द्रित गर्ने घोषणा पनि गरेको छ।
विशेषज्ञहरूका अनुसार, विज्ञापनसहितको निःशुल्क गेमिङ मोडेल माइक्रोसफ्टका लागि थप प्रयोगकर्ता आकर्षित गर्ने र नयाँ आम्दानीको स्रोत सिर्जना गर्ने माध्यम बन्न सक्छ।
माइक्रोसफ्टको यो घोषणा अमेजनले सोही दिन प्राइम भिडियोएपमार्फत आफ्नो लुना क्लाउड गेमिङ सेवा विस्तार गर्न थालेपछि आएको हो। यसले अनलाइन गेमिङ बजारमा प्रतिस्पर्धा झन् बढ्दै गएको संकेत गरेको छ।
प्रकाशित: ११ श्रावण २०८३, सोमबार