काठमाडौं ।
भेराइजनले वार्षिक समायोजित नाफा प्रक्षेपण बढाएको छ । साथै कम्पनीले गुगलसँग आफ्नो डाटा सेन्टरका लागि डार्क फाइबर कनेक्टिभिटी उपलब्ध गराउने १ अर्ब डलरभन्दा बढीको सम्झौता गरेको जनाएको छ । यस घोषणापछि दूरसञ्चार कम्पनी भेराइजनको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ड्यान शुलम्यानले त्रैमासिक नतिजापछिको छलफलका क्रममा वर्षको अन्त्यसम्म यस्तै थप सम्झौताहरू हुने अपेक्षा गरिएको र त्यसबाट आगामी केही वर्षमा अर्बौं डलर आम्दानी हुन सक्ने बताएका छन् ।
कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार विस्तारसँगै ठूला प्रविधि कम्पनीहरूले डाटा सेन्टरबीच उच्च क्षमताको कनेक्टिभिटी खोज्न थालेका छन् । यसले दूरसञ्चार कम्पनीहरूलाई आफ्नो फाइबर नेटवर्कबाट नयाँ आम्दानी गर्ने अवसर सिर्जना गरेको छ ।
नयाँ प्रमुख कार्यकारी अधिकृत शुलम्यानको नेतृत्वमा भेरिजोनले कम्पनीको रणनीतिमा परिवर्तन गरिरहेको छ । कम्पनीले ग्राहक संख्या बढाउने लक्ष्यसहित सरल मोबाइल योजना, नयाँ ग्राहक वफादारी कार्यक्रम र वायरलेस–ब्रोडब्यान्ड बन्डल सेवा सुरु गरेको छ । यसअघि ग्राहक वृद्धि दरमा कम्पनी प्रतिस्पर्धीभन्दा पछाडि परेको थियो ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार दोस्रो त्रैमासिकमा मासिक बिल तिर्ने १ लाख ८४ हजार नयाँ वायरलेस ग्राहक थपिएका छन् । यो तथ्यांक विश्लेषकहरूले अनुमान गरेको १ लाख ३ हजार ९ सय ग्राहकभन्दा धेरै हो ।
गत जुनमा भेराइजनले ‘सिम्प्लिसिटी’ नामको नयाँ अनलिमिटेड वायरलेस योजना सार्वजनिक गर्दै आफ्ना सेवा प्याकेजमा परिवर्तन गरेको थियो । यो योजनाले पहिलेका जटिल प्याकेजको सट्टा स्पष्ट मूल्य निर्धारणसहित कम्पनीको सबैभन्दा तीव्र ५जी नेटवर्क र मोबाइल हटस्पट डाटा सुविधा उपलब्ध गराउँछ ।
कम्पनीले अब प्रतिशेयर वार्षिक समायोजित नाफा ४.९९ देखि ५.०४ डलर रहने अनुमान गरेको छ । यसअघि यो अनुमान ४.९५ देखि ४.९९ डलर थियो ।
यस वर्ष कम्पनीको स्वतन्त्र नगद प्रवाह (फ्री क्यास फ्लो) ९ देखि १० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । यसअघि कम्पनीले यो वृद्धि ७ प्रतिशत वा सोभन्दा बढी हुने अनुमान गरेको थियो ।
दोस्रो त्रैमासिकमा कम्पनीको आम्दानी ३४.३ अर्ब डलर पुगेको छ, जुन विश्लेषकहरूले अनुमान गरेको ३५.१६ अर्ब डलरभन्दा कम हो । एलएसईजीका अनुसार ग्राहकहरूले मोबाइल फोन लामो समयसम्म प्रयोग गर्न थालेपछि नयाँ उपकरण खरिदको गति सुस्त भएको र उपकरण बिक्रीबाट हुने आम्दानी घटेका कारण कुल आम्दानी अपेक्षाभन्दा कम भएको हो ।
यद्यपि, प्रतिशेयर समायोजित नाफा १.३० डलर पुगेको छ, जुन विश्लेषकहरूको १.२७ डलरको अनुमानभन्दा बढी हो । लागत नियन्त्रण र उपकरणमा दिइने अनुदान खर्च घटाइएकाले कम्पनीको नाफा अनुमानभन्दा राम्रो आएको हो।
प्रकाशित: ११ श्रावण २०८३, सोमबार