टेस्लाको ह्युमनोइड रोबोटले गिगाफ्याक्ट्रीका कामदारबाट सिक्ने

  • Technology Khabar | ११ श्रावण २०८३, सोमबार
टेस्लाको ह्युमनोइड रोबोटले गिगाफ्याक्ट्रीका कामदारबाट सिक्ने
फोटो सौजन्यः एरिनाईभी

काठमाडौं ।

टेस्लाले आफ्नो मानवरूपी अर्थात् ह्युमनोइड रोबोट अफ्टिमसलाई तालिम दिन कर्मचारीहरूको काम गर्ने तरिका प्रयोग गर्ने भएको छ। कम्पनीले विद्युतीय सवारीसाधन उत्पादनका क्रममा कर्मचारीहरूको गतिविधि रेकर्ड गरेर रोबोटलाई सिकाउने योजना बनाएको हो।

जर्मनीको ग्रनहेइडस्थित गिगाफ्याक्ट्रीमा संकलन गरिने तथ्यांक प्रयोग गरेर अहिले कामदारले गर्ने कामहरू रोबोटले स्वतः गर्न सक्ने बनाइनेछ। जर्मन सञ्चारमाध्यमका अनुसार, छनोट गरिएका टेस्ला कर्मचारीहरूले काम गर्ने क्रममा झोलाभित्र राखिएका क्यामेरा बोक्नेछन्।

ती क्यामेराले उनीहरूले औजार कसरी प्रयोग गर्छन्, गाडीका पार्टपुर्जा कसरी चलाउँछन् र उत्पादन प्रक्रियाका विभिन्न चरण कसरी पूरा गर्छन् भन्ने रेकर्ड गर्नेछन्।

टेलिग्राफका अनुसार टेस्लाको उद्देश्य यो तथ्यांक प्रयोग गरेर अप्टिमसलाई मानिसको चालचलन र काम गर्ने तरिका सिकाउनु र त्यसलाई औद्योगिक वातावरणमा दोहोर्‍याउन सक्षम बनाउनु हो। कम्पनीले अमेरिकामा पनि यस्तै विधि अपनाउँदै विशेष अपरेटरमार्फत मानवरूपी रोबोटलाई तालिम दिन आवश्यक तथ्यांक संकलन गरिरहेको छ।

तर यो योजनाले कामदार र श्रमिक सङ्गठनहरूमा चिन्ता पनि बढाएको छ। भविष्यमा रोबोट प्रयोग गरेर केही कामदारको स्थान लिन सकिने आशंका गरिएको छ। जर्मनीमा कर्मचारीको गतिविधि वा कार्यसम्पादन अनुगमन गर्ने प्रविधि प्रयोग गर्नुअघि श्रमिक प्रतिनिधिसँग परामर्श गर्नुपर्ने हुन सक्छ।

ग्रनहेइड कारखानासँगै टेस्लाले जर्मनीकै रुटलिङ्गेनमा पनि रोबोटिक्ससम्बन्धी गतिविधि विस्तार गरिरहेको छ। त्यहाँ कम्पनीले अप्टिमसको ठूलो परिमाणमा उत्पादनका लागि आवश्यक पार्टपुर्जा र उपकरण विकास गरिरहेको छ।

टेस्लाका सीईओ इलन मस्कले अप्टिमसलाई कम्पनीका सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक भएको बताएका छन्। उनका अनुसार भविष्यमा मानवरूपी रोबोट कम्पनीको आम्दानीको प्रमुख स्रोत बन्न सक्छन्। तर यस्ता रोबोटको ठूलो परिमाणमा उत्पादन गर्नु अझै पनि कम्पनीका लागि प्राविधिक र औद्योगिक चुनौती रहेको छ।

प्रकाशित: ११ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार