काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले अब राष्ट्रहरुको प्रतिस्पर्धा केबल सस्तो श्रम शक्तिमा सीमित नभई ज्ञान, नव प्रवर्तन, अनुसन्धान र प्रविधि नै समृद्धिको प्रमुख आधार बन्न पुगेको बताएका छन्।
अध्यक्ष अग्रवालले आज काठमाडौंमा आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
‘नेपाल परिवर्तनबाट अलग रहन सक्दैन, हाम्रो देश जस्तो युवा जनशक्ति श्रृजनशीलता, उद्यमशीलता, सोच, विश्वव्यापी डिजिटल पहुँचको ठूलो सम्भावना रहेको छ। यी सम्भावनालाई सहि नीति, लगानी अनुसन्धान र उद्यमीहरुसँग जोड्न सक्यौँ भने नेपाल दक्षिण एसियाको एक महत्वपूर्ण नवप्रवर्तन केन्द्र बन्न सक्छ’, उनले भने।
उनले थपे, ‘इन्ड्रष्टियल रेभोल्युसन अघि बढेर एआई, रोबोटिक्स, ड्रोन प्रविधि, बिग डाटा, इन्टरनेट अफ थिङ्स, कम्प्युटिङ र जैविक प्रविधि तीव्र गतिमा अगाडि बढेको छ।’
अध्यक्ष अग्रवालका अनुसार भविष्यका रोजगार उद्योग, उत्पादन वा आर्थिक विकासका आधार स्तम्भहरु हुन्। डिग्रीले मात्र सफलता हासिल गर्न नसकिने भएकाले रोजगार खोज्ने मात्र नभई आफ्नो क्षमता देखाएर सिर्जना गर्ने सीप विकास गर्नुपर्ने उनको सुझाव थियो।
प्रकाशित: १० श्रावण २०८३, आईतवार