काठमाडौं ।
अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले शुक्रबार आफ्नो नयाँ एआई मोडेल ओपस ५ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यो मोडेल आधा लागतमा यसको शक्तिशाली मोडेल फेबल ५ जत्तिकै क्षमताको नजिक पुग्छ। सान फ्रान्सिस्कोस्थित कम्पनीले नयाँ क्लोड एआई मोडेल दैनिक कार्यालयका काम र कम्प्युटर प्रोग्रामिङका लागि उपयुक्त रहेको जनाएको छ।
रोयटर्ससँगको अन्तर्वार्तामा एन्थ्रोपिककी उत्पादन प्रमुख डियान पेनले मे महिनामा सार्वजनिक गरिएको ओपस ४.८ भन्दा नयाँ मोडेल अझ प्रभावकारी रहेको र यसले कम्पनीको तीव्र विकासको गति देखाउने बताइन्। उनले भनिन्, “हामी निरन्तर उन्नत एआई विकास गरिरहेका छौं र प्रत्येक नयाँ मोडेलसँगै त्यसलाई धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि सहज रूपमा उपलब्ध गराइरहेका छौं।”
रोयटर्सका अनुसार परीक्षणका क्रममा ओपस ५ ले साइबर सुरक्षासम्बन्धी कमजोरीको दुरुपयोग गर्न फेबल ५ भन्दा कम क्षमता देखाएको थियो। त्यसैले यसका सुरक्षा उपायहरू पनि फेबल ५ भन्दा कम कडा राखिएको कम्पनीले जनाएको छ। साथै, अन्य हालका एन्थ्रोपिक मोडेलहरूको तुलनामा ओपस ५ लाई गलत प्रयोगका लागि झुक्याउन पनि कठिन रहेको दावी गरिएको छ।
गत जुनमा सार्वजनिक गरिएको फेबल ५ लाई अमेरिकाले यसको क्षमता विदेशी सैन्य गुप्तचर प्रयोजनमा प्रयोग हुन सक्ने चिन्ता व्यक्त गरेपछि केही समयका लागि उपलब्ध गराइएको थिएन।
पेनका अनुसार, लागत र कार्यक्षमताको सन्तुलन खोज्ने प्रयोगकर्ताका लागि ओपस ५ उपयुक्त विकल्प हो। धेरै दिनसम्म चल्ने, अत्यधिक स्वचालित र जटिल परियोजनाका लागि भने फेबल ५ उपयुक्त हुने उनले बताइन्।
चीनको मूनशट कम्पनीले विकास गरेको किमि के३ नामक खुला (ओपन) एआई मोडेलबारे सोधिएको प्रश्नमा पेनले जटिल वास्तविक परियोजनामा यस्ता ओपन-वेट मोडेलहरूले कस्तो प्रदर्शन गर्छन् भन्ने कुरा अझै हेर्न बाँकी रहेको बताइन्। अमेरिकाले मूनशटले एन्थ्रोपिकको प्रविधिको अनुचित रूपमा फाइदा उठाएको आरोप लगाएको छ।
ओपन-वेट एआई मोडेलमा प्रयोगकर्ताले मोडेल डाउनलोड गरेर आफ्नै प्रणालीमा चलाउन र आवश्यकताअनुसार परिवर्तन गर्न सक्छन्। तर स्वामित्व (प्रोप्राइटरी) मोडेलमा यस्तो सुविधा उपलब्ध नहुने रोयटर्सले जनाएको छ।
प्रकाशित: १० श्रावण २०८३, आईतवार