एआईको बढ्दो मागसँगै शक्तिशाली बन्दै चीनका मेमोरी चिप उत्पादक कम्पनीहरू

  • Technology Khabar | ९ श्रावण २०८३, शनिबार
एआईको बढ्दो मागसँगै शक्तिशाली बन्दै चीनका मेमोरी चिप उत्पादक कम्पनीहरू

काठमाडौं ।

चीनका मेमोरी चिप उत्पादक कम्पनीहरू कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो मागसँगै शक्तिशाली बन्दै गएका छन् भने उनीहरूमाथि अमेरिकाको निगरानी पनि बढ्दै गएको छ।

धेरै महिनादेखि चिनियाँ चिप निर्माता चाङसिन मेमोरी टेक्नोलोजिज (सीएक्सएमटी) ले चीनकै ठूलो प्रविधि कम्पनी ह्वावेमाथि मेमोरी चिपको मूल्य बढाइरहेको थियो। ह्वावेले मूल्य घटाउन आग्रह गरे पनि सीएक्सएमटी त्यसमा सहमत नभएको विषयसँग परिचित दुई स्रोतले बताएका छन्।

यो विवाद जुन महिनामा सीएक्सएमटीको आन्हुई प्रान्तको हेफेईस्थित कारखानामा पुगेको थियो। ह्वावेसँग रणनीतिक सम्बन्ध रहेको चिप निर्माण उपकरण कम्पनी सिक्यारियरका इन्जिनियरहरू सीएक्सएमटीको अनुसन्धान तथा विकास (आरएन्डडी) क्षेत्रमा उपकरण मर्मत गरिरहेका बेला सीएक्सएमटीले उनीहरूलाई तुरुन्तै काम रोक्न र कारखाना छाड्न निर्देशन दिएको ती स्रोतहरूले बताएका छन्।

रोयटर्सका अनुसार  सिक्यारियरका अधिकारीहरूले यो घटना सीएक्सएमटी र हुवावेबीचको शक्ति संघर्षको परिणाम भएको निष्कर्ष निकालेको स्रोतहरूले रोयटर्सलाई बताएका छन्। कम्पनीहरूबीच कारोबार भने जारी रहे पनि ती इन्जिनियरहरूलाई आरएन्डडी क्षेत्रमा फर्किन अनुमति दिइएको छैन।

सीएक्सएमटी, ह्वावे र सिक्यारियरले यस घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

यो घटनाले चीनको सेमिकन्डक्टर उद्योगमा आएको परिवर्तन देखाउँछ। सीएक्सएमटी अहिले स्मार्टफोन, ल्यापटप र सर्भरमा प्रयोग हुने डीआरएएमसहित मेमोरी चिप उत्पादनमा विश्वकै चौथो ठूलो कम्पनी बनेको छ। अहिले कम्पनी यति बलियो भएको छ कि हुवावेले समेत तिर्न गाह्रो हुने मूल्य निर्धारण गर्न सक्ने अवस्थामा पुगेको छ।

पहिले उपकरणमा एप चलाउन र फाइल भण्डारण गर्न प्रयोग हुने मेमोरी चिप कम नाफाको व्यवसाय मानिन्थ्यो। सीएक्सएमटी र फ्ल्यास मेमोरी निर्माता याङत्से मेमोरी टेक्नोलोजिज कर्प (वाईएमटीसी) ले वर्षौंसम्म सरकारी सहयोगमा काम गर्दै घाटा बेहोरेका थिए।

तर विश्वभर एआई डाटा सेन्टर विस्तारसँगै मेमोरी चिपको माग तीव्र रूपमा बढेपछि यी उत्पादनहरू अत्यधिक खोजी भएका छन्। यसले मूल्य निर्धारण र आपूर्तिमा प्रतिस्पर्धा बढाएको छ।

यस विषयमा जानकार चार स्रोतका अनुसार अहिले चिनियाँ मेमोरी चिप उत्पादकहरूले ग्राहक छनोट गर्ने र मूल्य निर्धारण गर्ने अवस्थामा पुगेका छन्। केही अवस्थामा उनीहरूले दक्षिण कोरियाका स्यामसङ र एसके हाइनिक्सभन्दा पनि महँगो मूल्य लिइरहेका छन्, किनकि माग बढेसँगै चिनियाँ खरिदकर्ताले उच्च मूल्य तिर्न बाध्य भएका छन्।

यस महिनामा सीएक्सएमटीले टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्ससँग पाँच वर्षका लागि ७ अर्ब डलरभन्दा बढीको सम्झौता गरेको तीन स्रोतले रोयटर्सलाई बताएका छन्। बाइटडान्सले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

सीएक्सएमटी र वाईएमटीसीको बढ्दो प्रभावबारे तयार गरिएको यो विवरण एक दर्जनभन्दा बढी अधिकारी, इन्जिनियर, आपूर्तिकर्ता र अमेरिकी अधिकारीसँगको अन्तर्वार्ता तथा चिनियाँ सरकारी नीति र कम्पनीका करिब ५० वटा कागजातको अध्ययनमा आधारित रहेको रोयटर्सले जनाएको छ।

चीनमा “मेमोरीका जुम्ल्याहा तारा” भनेर चिनिने यी दुई कम्पनी ठूलो आईपीओको तयारीमा रहेका छन्। उनीहरूले मूल्य निर्धारण, व्यापार रणनीति र सम्झौतामा नयाँ प्रभाव जमाइरहेका छन्।

दुवै कम्पनीले आफ्नो मूल्य निर्धारण, रणनीति र अमेरिकाको बढ्दो निगरानीबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

यी कम्पनीहरूको चिप आपूर्तिमाथिको प्रभावले उनीहरूलाई अमेरिकासँग प्रत्यक्ष टकरावको स्थितिमा पुर्‍याएको छ। अमेरिकी रक्षा मन्त्रालयले दुवै कम्पनीलाई चीनको सैन्य–नागरिक एकीकरण रणनीतिमा सहयोग गरेको आरोप लगाउँदै चिनियाँ सैन्य कम्पनीको सूचीमा राखेको छ, जसलाई उनीहरूले अस्वीकार गरेका छन्।

वाईएमटीसी यसअघि नै अमेरिकी ‘एन्टिटी लिस्ट’मा परेको छ, जसका कारण अमेरिकी प्रविधि, सफ्टवेयर र चिप उत्पादन उपकरणमा यसको पहुँच सीमित भएको छ। अमेरिकी संसदमा दुवै कम्पनीको चिप निर्माण उपकरणमा पहुँच थप सीमित गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ। तर ट्रम्प प्रशासनभित्र उनीहरूमाथि थप कडाइ गर्ने विषयमा मतभेद रहेको चार स्रोतले बताएका छन्।

दुई स्रोतका अनुसार एप्पलले चिनियाँ मेमोरी चिप आवश्यक रहेको भन्दै सीएक्सएमटीलाई एन्टिटी लिस्टमा नराखिने सुनिश्चितता मागेको छ। गत वर्ष अमेरिकी अन्तर–एजेन्सी समितिले सीएक्सएमटीलाई व्यापार प्रतिबन्ध सूचीमा राख्न स्वीकृति दिए पनि अधिकारीहरूले हालसम्म त्यसलाई लागू गरेका छैनन्।

पश्चिमा प्रतिस्पर्धी माइक्रोनले भने अमेरिकी सांसदहरूलाई सीएक्सएमटी र वाईएमटीसीमाथि थप प्रतिबन्ध लगाउन, विशेष गरी चिप निर्माण उपकरणमा पहुँच सीमित गर्न आग्रह गरेको छ।

एप्पल, माइक्रोन, ह्वाइट हाउस तथा अमेरिकी वाणिज्य, रक्षा र विदेश मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

भूराजनीतिक तनावका बाबजुद चिनियाँ कम्पनीहरूको सेयर बजारमा सूचीकृत हुने तयारी भने रोकिएको छैन।

सीएक्सएमटीले सोमबार सांघाईमा ८.६ अर्ब डलरको आईपीओ सार्वजनिक गर्दैछ। कम्पनीले एक दशकको घाटा केवल छ महिनामा हटाउँदै चालु वर्षको पहिलो त्रैमासिकमा ७.५ अर्ब डलर आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७१९ प्रतिशत बढी हो।

वाईएमटीसी पनि आफ्नै आईपीओको तयारीमा छ। कम्पनीका केही अधिकारीहरूले १ ट्रिलियन युआन (१४८ अर्ब डलर) मूल्यांकनको लक्ष्य राख्न आन्तरिक रूपमा दबाब दिइरहेका छन्।

दुवै कम्पनीलाई चीन सरकार समर्थित ‘बिग फन्ड’ ले सहयोग गरेको छ। साथै सीएक्सएमटीलाई आन्हुई र वाईएमटीसीलाई हुबेई प्रान्तीय सरकारले पनि समर्थन गरेका छन्। सम्बन्धित सरकार र लगानी कोषले कुनै प्रतिक्रिया दिएका छैनन्।

कम्पनीका कागजात र सरकारी नीतिअनुसार चिनियाँ अधिकारीहरूले यी कम्पनीलाई प्रविधिमा आत्मनिर्भर बन्ने रणनीतिक पूर्वाधारका रूपमा हेरेका छन्।

वाईएमटीसीले जुनमा दक्षिण कोरियामा उपभोक्ता मेमोरी स्टोरेज ब्रान्ड सार्वजनिक गरेको थियो। स्यामसङ, एसके हाइनिक्स र माइक्रोनले उन्नत चिपमा ध्यान केन्द्रित गरेपछि खाली भएको बजारमा उसले प्रवेश गरेको हो।

तीन स्रोतका अनुसार सीएक्सएमटीले दीर्घकालमा अमेरिकी बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ। तर चीनभित्रकै उच्च मागका कारण अहिले यसको उत्पादन क्षमता व्यस्त छ।

तीन अन्य स्रोतका अनुसार चिनियाँ अधिकारीहरूले सीएक्सएमटी र वाईएमटीसीलाई घरेलु कम्पनीलाई प्राथमिकतामा राखेर चिप आपूर्ति गर्न निर्देशन दिएका छन्। नयाँ कारखाना सञ्चालनमा आएपछि सन् २०२७ देखि उनीहरूले चीन र विदेश दुवै बजारमा आपूर्ति बढाउने योजना बनाएका छन्।

सीएक्सएमटीले सांघाई र हेफेईमा दुई नयाँ कारखाना निर्माण गरिरहेको छ र तेस्रो कारखानाबारे अन्य स्थानीय सरकारसँग छलफल गरिरहेको तीन स्रोतले बताएका छन्। यी परियोजना पूरा भए उत्पादन क्षमता मासिक ६ लाख वेफरभन्दा बढी पुग्नेछ। एक स्रोतका अनुसार योजना सफल भए सन् २०३० सम्ममा सीएक्सएमटीको उत्पादन क्षमता माइक्रोनभन्दा बढी हुनेछ।

रोयटर्सले अप्रिलमा वाईएमटीसीले पनि यस वर्ष पूरा हुने कारखानाबाहेक थप दुई कारखाना बनाउने योजना रहेको जनाएको थियो।

बढ्दो प्रभावका बाबजुद यी कम्पनीले केही चुनौती पनि सामना गरिरहेका छन्। दुवै कम्पनी डच कम्पनी एएसएमएलका डीप अल्ट्राभायोलेट लिथोग्राफी मेसिनमा निर्भर छन्। यी मेसिन चिपभित्रका सूक्ष्म सर्किट बनाउन प्रयोग हुन्छन्।

उन्नत सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने प्रविधि र अमेरिकी प्रविधि समावेश भएकाले नेदरल्यान्ड्स सरकारले सन् २०१९ देखि चीनलाई एएसएमएलका अत्याधुनिक एक्स्ट्रिम अल्ट्राभायोलेट लिथोग्राफी मेसिन निर्यात अनुमति दिएको छैन।

पाँच स्रोतका अनुसार सीएक्सएमटीले एआईका लागि आवश्यक उच्च गतिको हाई–ब्यान्डविड्थ मेमोरी उत्पादन गरे पनि यो अझै प्रतिस्पर्धीभन्दा करिब दुई पुस्ता अर्थात् केही वर्ष पछाडि छ।

सेमीएनालाइसिसका विश्लेषक रे वाङले लिथोग्राफी उपकरणमा थप प्रतिबन्ध लागे चिनियाँ मेमोरी चिप उत्पादकका लागि सबैभन्दा ठूलो चुनौती हुने बताएका छन्। उनका अनुसार उपकरण आपूर्ति शृंखलाको यस क्षेत्रमा चीन अझै अन्य क्षेत्रको तुलनामा धेरै पछाडि छ।

एएसएमएलले भविष्यमा हुन सक्ने निर्यात नियमको प्रभावबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

वाईएमटीसी भने यस अवस्थाबाट सीएक्सएमटीभन्दा केही सुरक्षित मानिएको छ। सन् २०२२ मा एन्टिटी लिस्टमा परेपछि वाईएमटीसीले करिब आधा उपकरण स्वदेशी मेसिनले प्रतिस्थापन गरेको र कम उन्नत उपकरण प्रयोग गरेर मेमोरी तह बनाउने नयाँ प्रविधि विकास गरेको दुई स्रोतले बताएका छन्।

विदेशी अधिकारीहरूले पहिले चिनियाँ मेमोरी चिपलाई पश्चिमी र दक्षिण कोरियाली उत्पादनभन्दा सस्तो विकल्प मान्थे। तर अहिले अवस्था बदलिएको छ।

स्रोतका अनुसार पछिल्ला साताहरूमा सीएक्सएमटीले समान ६४ गिगाबाइट डीडीआर५ सर्भर मेमोरी मोड्युलका लागि स्यामसङको करिब १,२४० डलर प्रतियुनिट मूल्यभन्दा बढी शुल्क लिएको छ। उनीहरूले सीएक्सएमटीको वास्तविक मूल्य भने खुलाएका छैनन्।

सामसङले यसबारे कुनै प्रतिक्रिया दिएको छैन भने एसके हाइनिक्सले पनि टिप्पणी गर्न अस्वीकार गरेको छ।

स्रोतका अनुसार यस वर्ष धेरै चिनियाँ इलेक्ट्रोनिक्स तथा प्रविधि कम्पनीहरूले सीएक्सएमटी र वाईएमटीसीले मूल्य बढाएको भन्दै चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा गुनासो गरेका छन्। उनीहरूका अनुसार मूल्यवृद्धिका कारण उत्पादन सार्वजनिक गर्ने योजना ढिलाइ भएको थियो।

मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। तर अप्रिलमा उसले मूल्य बढाउन मेमोरी चिप लुकाएर राख्ने गतिविधिमाथि कारबाही गर्ने जनाएको थियो।

दुई स्रोतका अनुसार चिनियाँ सरकारी स्वामित्वका कम्पनीलाई विदेशी मेमोरी चिप उत्पादकबाट खरिद गर्न पनि प्रतिबन्ध लगाइएको छ।

सीएक्सएमटीले बाइटडान्ससँग गरेको आपूर्ति सम्झौताअघि जुन महिनामा टेन्सेन्टसँग पनि ३ अर्ब डलरभन्दा बढीको सम्झौता गरेको थियो। टेन्सेन्टले कुनै प्रतिक्रिया दिएको छैन।

वाईएमटीसीका अध्यक्ष चेन नान्सियाङले सन् २०२४ मै चिनियाँ सरकारी सञ्चारमाध्यमसँग उद्योगमा विस्फोटक वृद्धि आउन अझै बाँकी रहेको र त्यो तीनदेखि पाँच वर्षभित्र हुने बताएका थिए।

यस वर्षको सुरुवातसम्म आइपुग्दा कम्पनीले पहिलो पटक ग्राहक छनोट गर्न थालेपछि चेन र उनको नेतृत्व टोलीले सफलता मनाएको दुई स्रोतले बताएका छन्। उनले अनुमान गरेको मेमोरी चिपको तीव्र वृद्धि अहिले वास्तविकतामा परिणत भएको छ।

प्रकाशित: ९ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...