काठमाडौं ।
कारको ब्याट्रीमा देखा पर्ने समस्याहरू भनेको मेकानिकका लागि सबैभन्दा सामान्य समस्याहरू मध्ये एक हो। निरन्तर चार्जिङ र डिस्चार्जिङ साइकल्स (चक्र)का साथै गाडीको उमेर र ब्याट्री आफैंले समयसँगै समस्याहरू निम्त्याउन सक्छ।
ब्याट्रीका समस्याहरू आफैंले कुनै विशेष उपकरण बिना नै साधारण रुपमा जाँच गर्न सकिन्छ। कारलाई पर्खालतिर फर्काएर अँध्यारो ठाउँमा पार्क गरेपछि इन्जिन बन्द गरेर हेडलाइटहरू बालेर ब्याट्रीमा समस्या भएको वा नभएको थाहा पाउन सकिन्छ।
हेडलाइटहरू बालेको केही समय पछि बत्ती मधुरो हुन थाल्यो भने ब्याट्रीले पावर गुमाउँदैछ र ब्याट्री आफ्नो जीवनको अन्त्य नजिक पुग्न लागेको संकेत हो भनेर बुझ्न सकिन्छ।
त्यसैगरी भोल्टमिटरको साथ अझ सटीक जाँच गर्न सकिने बताइएको छ। तर यो उपकरण हरेक घरमा उपलब्ध नहुने उल्लेख गरिएको छ। त्यस कारणले गर्दा, हेडलाइटहरूको परीक्षण एक द्रुत तरिका भएको र चालकहरूले सम्भावित समस्याहरू पहिचान गर्न आफैंले यो तरिका प्रयोग गर्न सक्ने टेलीग्राफले रिपोर्ट गरेको छ।
त्यस बाहेक इन्जिन सुरु गर्न कठिनाइ, स्टार्टरको ढिलो क्र्याङ्किङ, मधुरो बत्तीहरू र कहिलेकाहीं कारको विद्युतीय उपकरणहरूमा समस्याहरू जस्ता संकेतहरूले कमजोर ब्याट्रीलाई संकेत गर्दछन्।
विज्ञहरूले चालकहरूलाई पार्किङ पछि बत्तीहरू बन्द गरिएको छ कि छैन र ढोकाहरू राम्ररी बन्द गरिएको छ कि छैन भनेर जाँच गर्न सल्लाह दिएका छन्। साथै चालकहरूले कारको भित्री बत्ती बालेर निभाउन बिर्सिको अवस्थामा पनि ब्याट्रीको खपत हुने गर्दछ।
प्रकाशित: २९ असार २०८३, सोमबार