काठमाडौं ।
जर्मनीको ह्याम्बर्ग बन्दरगाहमा डोयच टेलिकम र एरिक्सनले निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्याएका छन्, जसले बन्दरगाहका स्वचालित प्रणालीलाई थप मजबुत बनाएको छ।
ह्याम्बर्गस्थित कन्टेनर टर्मिनल अल्टेनवेर्डर युरोपको तेस्रो ठूलो कन्टेनर बन्दरगाह हो। रोटरडाम र एन्टवर्पपछि पर्ने यस बन्दरगाहमा निजी ५जी क्याम्पस नेटवर्क विस्तार गर्नु ठूलो परियोजना मानिएको छ। डोइचे टेलिकमले एरिक्सन र ह्याम्बर्गर हाफेन उन्ड लोगिस्टिक (एचएचएलए) सँगको सहकार्यमा यो नेटवर्क सञ्चालनमा ल्याएको हो।
यो नेटवर्कले एक वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। यसले भरपर्दो मोबाइल कनेक्टिभिटीका साथै विभिन्न लजिस्टिक गतिविधि र रियल-टाइम अनुप्रयोगलाई पनि समर्थन गर्नेछ। साथै, यसलाई नवीन बन्दरगाह प्रविधिको विकास र वास्तविक वातावरणमा परीक्षण गर्न डिजिटल परीक्षणस्थलका रूपमा पनि प्रयोग गरिनेछ।
टेलिकम्स डटकमका अनुसार डोयच टेलिकमका व्यवसायिक ग्राहक विभागका क्लाउस वेर्नरले एचएचएलएसँगको सहकार्यमा निजी ५जी क्याम्पस नेटवर्कमार्फत बन्दरगाहको डिजिटल रूपान्तरणलाई अर्को स्तरमा पुर्याइएको बताए। उनका अनुसार यो समाधानले उन्नत मोबाइल सञ्चार प्रविधिले जटिल प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र लचिलो बनाउन सक्ने देखाएको छ।
एचएचएलएका आईटी परियोजना प्रबन्धक माइकल अल्बर्सले ५जी क्याम्पस नेटवर्कमार्फत उच्च क्षमतायुक्त र भरपर्दो वायरलेस पूर्वाधार प्राप्त भएको बताए।
यसले नयाँ अनुप्रयोगलाई वास्तविक वातावरणमा परीक्षण गरी सिधै सञ्चालनमा ल्याउन सकिने उनले उल्लेख गरे। साथै, यसले एचएचएलए र उसका साझेदारलाई वास्तविक टर्मिनल वातावरणमा नवीन समाधान विकास र परीक्षण गर्न सहयोग गर्ने उनको भनाइ छ। यसले कन्टेनर टर्मिनल अल्टेनवेर्डरको कनेक्टिभिटी र स्वचालनलाई अगाडि बढाउने महत्त्वपूर्ण कदम भएको उनले बताए।
एरिक्सनले यस परियोजनाबारे छुट्टै प्रतिक्रिया सार्वजनिक नगरे पनि यो परियोजना कम्पनीको निजी फाइभजी समाधानको महत्वपूर्ण उदाहरण बनेको छ। यसले विभिन्न स्वचालित प्रणालीलाई रियल-टाइममा जोडेर उच्च स्तरको स्वचालन सम्भव बनाएको छ। कम्पनीका अनुसार यो नेटवर्क स्थिर र आवश्यकता अनुसार विस्तार गर्न सकिने क्षमतायुक्त छ।
यो परियोजनालाई जर्मन सरकारले पनि डिजिटल बन्दरगाह पहलअन्तर्गत सहयोग गरेको छ। उक्त पहलको उद्देश्य बन्दरगाह क्षेत्रमा नयाँ प्रविधिको विकास र प्रयोगलाई प्रोत्साहन गर्नु हो।
प्रकाशित: २९ असार २०८३, सोमबार