सामसङको नाफामा ऐतिहासिक छलाङ, अप्रिल–जुन महिनाको अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन पुग्ने अनुमान

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
सामसङको नाफामा ऐतिहासिक छलाङ, अप्रिल–जुन महिनाको अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन पुग्ने अनुमान
A woman walks past a large electronic screen showing the logo of Samsung Electronics at Gwanghwamun square in central Seoul on January 8, 2026. South Korean tech giant Samsung Electronics said on January 8, it expected its fourth-quarter profit to reach a record 20 trillion won ($13.8 billion). (Photo by Jung Yeon-je / AFP)

काठमाडौं ।

कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ।

कम्पनीले मङ्गलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अप्रिल–जून अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन (५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणाले बढी हो।

विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसङका अनुसार यस अवधिमा राजस्व पनि उल्लेखनीय रूपमा बढेर एक हजार ७१० खर्ब वोन पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले बढी हो। कम्पनीले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ।

एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्याएको छ। यही कारण सामसङले यसअघि कामदारसँग बोनससम्बन्धी सहमति गरेपछि सम्भावित ठूलो हडतालसमेत टार्न सफल भएको थियो।

सेजोङ विश्वविद्यालयका व्यवसाय प्रशासनका प्राध्यापक किम डे–जोङले सामसङको अनुमानित नाफालाई कम्पनीकै इतिहासको सबैभन्दा ठूलो त्रैमासिक परिचालन मुनाफा भएको बताए।

उनका अनुसार कम्पनीले यस्तो प्रदर्शन निरन्तर कायम राख्न सके विश्वकै अग्रणी उत्पादन कम्पनीका रूपमा अझ बलियो स्थान बनाउन सक्छ। तर उनले एआईसँग सम्बन्धित मेमोरी चिपको उच्च माग कति समयसम्म कायम रहन्छ भन्ने विषय नै आगामी चुनौती रहने उल्लेख गरे। उनका अनुसार अर्को वर्षसम्म माग सुरक्षित देखिए पनि त्यसपछिको अवस्था निश्चित छैन।

सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि मङ्गलबार बिहानको कारोबारमा सामसङको सेयर मूल्य करिब सात प्रतिशतले घटेको थियो। सियोलको कोस्पी सूचकाङ्कमा आएको समग्र गिरावटले पनि यसको प्रभाव पारेको विश्लेषण गरिएको छ।

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले बजार विश्लेषण उद्धृत गर्दै सामसङको प्रारम्भिक नाफा अनुमान विश्लेषकहरूको औसत प्रक्षेपणभन्दा छ दशमलव दुई प्रतिशतले बढी रहेको जनाएको छ।

सामसङ र घरेलु प्रतिस्पर्धी एसके हाइनिक्सले दक्षिणपश्चिमी दक्षिण कोरियामा करिब आठ हजार खर्ब वोन बराबरको सार्वजनिक–निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन्। प्राध्यापक किमका अनुसार उक्त परियोजना सम्पन्न भएपछि पनि सामसङले हालको आयको स्तर कायम राख्न सक्छ वा सक्दैन भन्ने विषय भने अझै अनिश्चित छ।

केही विश्लेषकले एआई पूर्वाधारमा हुने सम्भावित लगानी सुस्ताइलाई अहिलेको मेमोरी चिप बुमका लागि प्रमुख जोखिमका रूपमा औँल्याएका छन्। तर काउन्टरपोइन्ट रिसर्चका विश्लेषक एमएस ह्वाङले उत्पादकको आपूर्ति क्षमता र ग्राहकको मागबीचको अन्तर अझै उल्लेखनीय रूपमा कायम रहेकाले व्यापक मन्दीको निष्कर्ष निकाल्न हतार हुने बताए।

उनका अनुसार केही प्रतिस्पर्धी कम्पनीका डाटा सेन्टर परियोजना ढिलो हुन सक्छन्, तर त्यसलाई समग्र एआई पूर्वाधार लगानी घटेको संकेतका रूपमा लिन मिल्दैन।

एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन्। यसले ती उपकरणको मूल्यसमेत बढाउन थालेको विश्लेषण गरिएको छ।

दक्षिण कोरियामा सेमिकन्डक्टर उद्योगबाट बढेको कर आम्दानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ। राष्ट्रपतिका प्रमुख सचिव काङ् हुन–सिकले कर राजस्वबाट प्राप्त अतिरिक्त आम्दानी एआई तथा सेमिकन्डक्टर उद्योगका ठूला परियोजनामा लगानी गरिने र त्यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने बताएका छन्।

यसैबीच एसके हाइनिक्ससँग सम्बन्धित ज्याकेट यस वर्ष सामाजिक सञ्जालमा धन र सफलताको प्रतीकका रूपमा भाइरल बनेको थियो। विभिन्न व्यङ्ग्यात्मक सामग्रीमा त्यसलाई विलासी जीवनशैली र राम्रो वैवाहिक सम्भावनाको ‘सुनौलो टिकट’ का रूपमा चित्रण गरिएको थियो।

योन्हापका अनुसार वैवाहिक मिलान संस्था सुनुले तयार पारेको ‘वाञ्छनीयता सूचकाङ्क’ मा सामसङ र एसके हाइनिक्सका कर्मचारीको आकर्षण डाक्टर र वकिलसरह पुगेको देखिएको छ।-रासस

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार